१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७७, शुक्रबार ०४:१५

काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद चर्किँदै जाँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट सांसदलाई तीन वटा फरक–फरक खाली पानामा हस्ताक्षर गराएका छन्। अघिल्लो साता प्रचण्डले आफू निकट सांसदलाई बोलाएर तीन वटा खाली पानामा हस्ताक्षर गराएका हुन्।

प्रचण्डले तीन वटा खाली पानामा हस्ताक्षर गर्न भनेपछि केही सांसदले खाली पानामा किन हस्ताक्षर गराउनु भएको भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले एउटा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन, दोस्रो संसद अधिवेशन आह्वान गर्न र तेस्रो राष्ट्रपतिसँग सम्बन्धित विषय रहेको बताएको स्रोतले जनाएको छ।

प्रचण्डले हस्ताक्षर गर्न भन्दै सरकारमा सहभागी मन्त्रीलाई पनि खाली पाना पठाएका थिए। मन्त्रीकहाँ हस्ताक्षर गर्न भन्दै खाली पाना पुगेपछि पूर्वमाओवादी कोटाबाट मन्त्री बनेकाले प्रचण्डलाई फोन गरेर हस्ताक्षरको विषयमा जिज्ञासा राखेको र जवाफमा प्रचण्डले हस्तक्षर गर्न आग्रह गरेपछि उनीहरुले हस्तक्षर गरेका थिए।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिएपछि अध्यक्ष दाहाल र नेपाल समूहले आफू पक्षधर सांसदलाई बोलाएर तीन वटा खाली पानामा हस्ताक्षर गर्न लगाएका हुन्।

नेकपा प्रमुख सचेतक देव गुरुङले अध्यक्ष प्रचण्ड र माधव नेपालले नै खाली पानाको सही गराएको आफूलाई जानकारी नभएको बताए। यद्यपि उनले यसअघि केही सांसदहरुले पार्टी विभाजन हुन नदिन भन्दै हस्ताक्षर गरेको सुनाए। स्राेतका अनुसार हालसम्म १०७ जनाले हस्ताक्षर गरिसकेकाे स्राेतले जनायाे।
– डिसी नेपाल