१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा कोरोनाबाट भएको मृत्युको तथ्यांकप्रति आशंका

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७७, शनिबार २०:४०

लन्डन । (रासस/एएफपी) । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकहरुको पुनरावलोकन गर्न माग गरिएको छ ।

यहाँका जनस्वास्थ्य सम्बन्धी केही गैर सरकारी संस्थाहरुले गरेको अनुसन्धानका क्रममा बेलायतमा कोरोना भाइरसबाट भएको मृत्युको संख्या नमिल्ने देखिएको छ ।

बेलायतमा ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसबाट निधन भएको छ । त्यस्तै अरु पनि कैयौँ व्यक्तिले कोरोनाको परीक्षण नगरी पनि ज्यान गुमाएका छन् । यसरी अस्पताल नै नआई कोरोनाका कारण ज्यान गुमाउन पुगेका व्यक्तिहरुको बारेमा भने तथ्यांक नराखिएको पनि हुनसक्ने हालै प्रकाशित एक अनुसन्धानमूलक लेखमा सार्वजनिक भएको पाइएको छ ।

अक्फोर्ड विश्वविद्यालयमा यस विषयका विज्ञहरुले जम्मा पारेको तथ्यांक र सरकारले बेलायतमा कोरोनाका कारण भएको मृत्युको तथ्यांक नमिल्ने जनाइएको समाचारमा उल्लेख गरिएको छ ।

त्यस अनुसन्धानमूलक लेखमा भनिएको छ कि कुनै पनि व्यक्ति स्वास्थ्य परीक्षण गराएपछि कोरोना भाइरसको संक्रमित हुन्छ र अस्पातमा या घरैमा उपचारमा बस्छ तर पछि उ निको भएर घर फर्किएपछि अरु कुनै कारणले उसको निधन भयो भने त्यसलाई पनि कोरोनाको निधनका रुपमा राख्ने गरिएको छ ।

कतिपय मानिस कोरोना निको भएर घर गएपछि हृदयाघात भएर या अरु नै कुनै कारणले निधन भयो भने पनि उसलाई कोरोनाको मृत्युका रुपमा गणना गर्ने गरिएको छ । यहाँका सरकारी निकायहरुले सार्वजनिक गर्ने गरेका कोरोनासँग सम्बन्धितको मृत्युको संख्या नमिलेको सो लेखमा बताइएको छ ।

त्यसैले यहाँका कारोना भाइरसको मृत्युको तथ्यांक नै पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको दुई जना विज्ञद्धारा लेखिएको सो लेखमा उल्लेख गरिएको सो समाचारमा जनाइएको छ ।