१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मेलम्ची खानेपानीको सुरुङ जुनसुकै ठाउँमा विस्फोट हुन सक्ने विज्ञको चेतावनी

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७७, सोमबार ०४:४६

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा गम्भीर लापरबाही भएको प्राविधिकहरूले बताउँदै आएका छन् । यो दाबीलाई मेलम्ची खानेपानी आयोजनाले अफवाह भन्दै अस्वीकार गर्दै आएको थियो । तर गत बुधबार प्राविधिकहरूको यो भनाइलाई पुष्टि गरिदिएका छन् । सुरुङको मुहानदेखि नौ किलोमिटर खण्डमा पानी प्रवाह गरेर गत मंगलबार परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ठूलो दुर्घटना भयो । यद्यपि त्यो दुर्घटनाको वास्तविक कारण आयोजनाले लुकाइरहेको छ । परीक्षणका लागि सुरुङमा प्रवाह गरिएको पानीको दबाब थेग्न नसकेर १७ नम्बर गेट फुट्दा एक इन्जिनियर र सवारी चालकलाई बगाएको थियो ।

काठमाडौंका जनताको मेलम्ची खानेपानी आयोजनाबाट पानी आउने आसमा ठूलै धक्का लाग्ने सम्भावना पहिलो खण्डको सुरुङ परीक्षणले नै देखाएको छ । पानीको दबाब थेग्न नसकेर १७ नम्बर गेट भत्किएपछि आयोजनले निर्माण गरेको सुरुङप्रति नै शंका गर्न थालिएको हो । सुरुङ निर्माण आयोजनामा लामो समय काम गरेका एक इन्जिनियरका अनुसार मापदण्डविपरीतको सिमेन्ट प्रयोग हुनु र सुरुङ निर्माणको ठेकेदार एकै हुनुले कुनै पनि बेला सुरुङमा कुनै पनि ठाउँमा विस्फोट हुन सक्ने अवस्था छ । सुरुङ निर्माण गर्दा अल्कालीको मात्रा बढी भएको सिमेन्ट प्रयोग गरिएकाले यो अवस्था आएको हो । इटालियन निर्माण कम्पनी सिएमसीले लामो समयदेखि सुरुङमा अर्घाखाँची सिमेन्ट प्रयोग गर्दै आएकोमा ल्याब टेस्टमा फेल भएपछि सो सिमेन्टलाई रद्द गरी सगरमाथा सिमेन्ट प्रयोगमा ल्याएको थियो ।

ल्याब टेस्ट गर्दा सगरमाथा सिमेन्टमा अल्कालीको मात्रा शून्य दशमलब ७१ देखिन आएकाले फेरि अर्घाखाँची सिमेन्ट नै प्रयोग गरेको इप्टिसा कन्सल्टेन्सीका सहायक प्रमुख प्रद्युम्नलाल प्रधानले जानकारी दिएका थिए । अल्कालीको मात्रा शून्य दशमलब ६ भन्दा कम भएमा सिमेन्टको गुणस्तर राम्रो मानिन्छ । त्यस्तो सिमेन्टको आयु एक सय वर्षसम्म हुन्छ । अल्कालीको मात्रा बढी भएमा सिमेन्टको गुणस्तर कमसल हुन्छ । त्यसैले इन्जिनियरले पहाडी क्षेत्रको निर्माण कार्यका लागि ‘लो अल्काली’ सिमेन्ट प्रयोग गर्ने मापदण्ड बनाउने गरेका छन् । सुरुङको भित्री भागका लागि शून्य दशमलव ६ भन्दा कम अल्काली सिमेन्ट प्रयोग गरिन्छ । अल्काली सिमेन्ट बनाउने कच्चा पदार्थ चुनढुंगा (लाइम) मा पाइन्छ । जुन पानीमा घुल्छ । सोडियम हाइड्रोअक्साइड, पोटासियम हाइड्रोअक्साइड, क्याल्सियम हाइड्रोअक्साइड, क्याल्सियम कार्बोनेट र म्याग्नेसियम हाइड्रोअक्साइड समीश्रणको मात्रा अल्काली कम भएको सिमेन्टको विशेषता हो । ल्याब टेस्ट गरेर अल्कालीको मात्रा पत्ता लगाइन्छ ।

सुरुङ दुर्घटनाले सरकारको योजनामा धक्का
मेलम्ची खानेपानी आयोजनाको काम सकिनै लाग्दा उत्पन्न भएको अप्रत्यासित समस्याले आयोजना पुनः धकेलिएको छ । आयोजनाको निर्माण सम्पन्न भइसकेको दाबी गरिए पनि मंगलबार भएको दुर्घटनाका कारण सरकारको योजनामा धक्का लागेको हो । दुई साताअघि संसदीय समितिको बैठकलाई जानकारी दिँदै खानेपानी मन्त्रालयका सचिवले मेलम्ची आयोजना सक्पन्न हुन अझै डेढ वर्ष लाग्ने बताएका थिए । एक साताअघि खानेपानीमन्त्री बिना मगरले अब छिट्टै उद्घाटन हुने घोषणा गरेकी थिइन् । तर सुरुङ निर्माणमा गम्भीर त्रुटि भएको पुष्टिसँगै अब मेलम्ची आयोजनाको भविष्य अन्धाकार देखिएको छ ।

हालै मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको थियो । आयोजनाका अनुसार एक साताअघि मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग परीक्षणका लागि पानी पठाइएको थियो । योजनाअनुसार अबको १० दिनपछि टनेलमा पानी भरिन्थ्यो । तर, परीक्षणको क्रममा टनेलमा केही समस्या देखिएपछि मंगलबार हेर्न गएका चार प्राविधिकलाई आयोजनाको सुरुङमा छाडेको पानीले बगाएको थियो । पानी खोल्न अनुभव नभएका हालसालै काम गर्न आएका इन्जिनियरसहितको टोली मुहान पुगेका थिए । पानी खोलेपछि १७ नम्बर गेटको ३३ वटा नट एकैपटक खुस्केका कारण पानीको प्रेसर थाम्न नसक्दा उनीहरूलाई पानीले बगाएको हो । अहिले अस्थायी संरचनाबाट पानी पठाउन परीक्षण भइरहेको छ । कफर ड्यामदेखि पहिलो अडिट टनेल करिब सात सय मिटरमा छ । सोही अडिट टनेलमा रहेको गेट फुस्किएको हो । आयोजनामा कार्यरत इन्जिनियर सतिश गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगाएको छ ।

गेट फुटेपछि आएको बाढीले बा१झ ८७६४ नम्बरको गाडीसमेत बगाएको छ । अहिले खानेपानी मन्त्रालयले प्राविधिक समस्याको विषयमा अध्ययन गर्न प्राविधिक टोली गठन गरेको छ । प्राविधिक टोलीको अध्ययनको निचोड नआएसम्म तत्कालका लागि टनेलमा पानी पठाउने कार्य रोकिने भएको छ । खानेपानी मन्त्रालयको प्रवक्ता रितेश शाक्यले टनेलमा आएको समस्याका कारण तत्कालका लागि पानी पठान्तरणको कार्य रोकिने बताए । उनले भने– ‘सात दिनजति भयो मेलम्चीको टनेलमा पानी पठाउन थालेको, अब १० दिनमा टनेलमा पानी भरिन्छ भन्ने थियो, दुई महिनाभित्रै उपभोक्ताको धारामा मेलम्चीको पानी पु-याउने भन्ने लक्ष्यका साथ हामी अगाडि बढेका थियौं, तर बिडम्बना ६ वटा गेटमध्ये टनेलको पहिलो गेटमा नै समस्या देखियो, हेर्न गएकामध्ये चारजनालाई बगायो र दुईजना अझै बेपत्ता छन्, यसले गर्दा यो समस्याको पहिचान नभएसम्म मेलम्चीमा पानी पठाउने कार्य तत्कालका लागि रोकिने छ र मेलम्ची आयोजना धकेलिन्छ केही समय ।’

जिरो चेनेजबाट अस्थायी हेडवक्र्स हुँदै पानी सुरुङमार्गतिर पठाइएको थियो । अम्बाथान अर्थात् सुरुङमार्गको पहिलो अडिटसम्मको करिब आठ सय मिटर परीक्षण गरिएको गत साता आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले भनेका थिए । उनका अनुसार अम्बाथान अडिटबाट पुनः पानी मेलम्ची खोलामै फर्काइएको छ ।

मेलम्ची आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको सुरक्षाका उपाय अपनाउन नसक्दा मानवीय क्षति भएको भन्दै सरकारको आलोचना पनि गरिएको छ । खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्यायले पनि तोकिएको समयभन्दा मेलम्ची आयोजान पछि धकलिने बताए । उनले भने–‘पहिलो गेटमै समस्या देखियो, अब यो गेट बनाउन समय लाग्न सक्छ, फेरि अन्य ६ वटा गेटमा समस्या हुँदैनन् भन्ने पनि छैन, अन्य गेटमा पनि समस्या आउन सक्ला यसले गर्दा मेलम्ची कहिले आउँछ भन्ने कुरामा निश्चित छैन, गेट भत्कियो बनाइएला, तर मानवीय क्षति भयो, सुरक्षाको कुरामा लापरबाही भयो । सरकारले यस्ता कुरामा ध्यान दिन नसकेको देखिन्छ ।’

मेलम्चीको अर्थिक लगानी
मेलम्चीको कुल लागत २७ अर्ब ७६ करोडमध्ये हालसम्म करिब २६ अर्ब रकम खर्च भइसकेको बताइन्छ । बजेटको करिब ८० प्रतिशत एशियाली विकास बैंक र बाँकी सरकारले व्यहोर्ने सहमति भएको थियो । गत जेठ १५ गतेको संघीय बजेट वक्तव्यमा अर्थमन्त्री डा.युवराज खतिवडाले पनि यही असार मसान्तभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने र आगामी आर्थिक वर्षको सुरुवातमा काठमाडौं उपत्यकामा नै मेलम्ची पानी वितरण गरिने प्रतिबद्धता जनाएका थिए । खतिवडाले संसदमा २०७७-७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको सुरुवातमै मेलम्चीको पानी वितरण गर्न बजेटको व्यवस्था गरिएको बताएका थिए । तर, परीक्षणको समयमा नै सुरुङको गेटमा समस्या देखिएपछि आयोजना अनिश्चित बनेको छ ।

स्थानीय सरकार गम्भीर
आयोजनाको मुहान रहेको हेलम्बु गाउँपालिका यो घटनापछि निकै गम्भीर देखिएको छ । गाउँपालिकाले अब प्राविधिकको प्रतिवेदनका आधारमा मात्र काम गर्न दिने वा नदिने निर्णय गर्ने जानकारी दिएको छ । गेट फुटेपछि निरीक्षणका लागि मुहानस्थल अम्बाथान पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुरुङ अवलोकनपछि भने– ‘सुरुङको ५० मिटरजति भागमा जताततैबाट पानी चुहिएर बाहिर निस्केको छ । भित्री सुरुङ नै कमजोर भएको पाएँ, २७ किलोमिटरमध्ये नौ किलोमिटरमा मात्र पानी हाल्दा यस्तो छ भने भोलि २७ किलोमिटरमै पानी भर्दा के होला ? गेटमात्रै फुटेको होइन सुरुङ नै भत्केको छ, भोलि यसरी भत्किँदा हेलम्बुको नदी किनारका सबै बस्ती डुवानमा पर्ने र सयौं मान्छे मर्न सक्ने सम्भावना छ ।’ तर, २०७४ चैत २७ गते २६ किलोमिटर लामो सुरुङ मार्गको ब्रेक थ्रुलाई ठूलो उपलब्धिको रूपमा प्रचार गरेको थियो भने सुरुङमा पानी भर्ने चरणमा पुगेपछि मेलाम्ची खानेपानी आयोजना नयाँ चरणमा प्रवेश गरेको मन्त्री विना मगरले भनेकी थिइन् ।

२०५५ सालमा मेलम्ची खानेपानी विकास समिति स्थापना गरेर काम अघि बढाइएको थियो । २०७७ साल आइपुग्दा पनि पानी आउने अनिश्चित भएको छ । हेलम्बु गाउँपालिका अन्तर्गत मेलम्ची नदीको रिबर्मा भन्ने ठाउँनिर मुहान (हेडवक्र्स) निर्माण गरी रिबर्मादेखि सुन्दरीजलसम्म करिब २६ किलोमिटर लामो सुरुङका माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकाभित्र ल्याउने उद्देश्य लिइएको थियो । यसैगरी क्रमशः दोस्रो चरणमा यांग्री र लार्के नदीबाट दैनिक १७–१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी काठमाडौंमा ल्याउने दीर्घकालीन लक्ष्यका साथ यो आयोजना सञ्चालनमा आएको हो । २०४८ सालदेखि हालसम्म आउँदा अर्थात् यो २७ वर्षे अवधिमा नेपालमा १८ जना व्यक्ति प्रधानमन्त्री भए । तर मेलम्चीको पानी उपत्यकामा आउने अझै सुरसार छैन ।
तरुण साप्ताहिकबाट