१६ चैत्र २०८०, शुक्रबार
Follow Us

युके भ्रमणमा जाने क्रिकेट टोलीको घोषणा

नेपालब्रिटेन डट कम्
२१ असार २०७३, मंगलवार १९:३९

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आज घोषणा गरिएको १५ सदस्यीय टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदानमा खेल्नेछ ।
कप्तान पारस खड्काको नेतृत्वको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत टोलीमा अटाएका छन् ।
नेपालले आगामी अगस्टमा नेदरल्यान्डसँग उसकै मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्दैछ । हाल नेपाली टोली त्यसैको तयारी रहे बमोजिम युके भ्रमणमा निस्कन लागेको हो । क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट सङ्घ निलम्बनमा रहेका अवस्थामा आइसिसीले आफ्नै अग्रसरतामा नेपाली टोलीको छनोट गरेको हो