१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘साम्राज्ञीलाई खानापानमा विभेद गरेको मिथ्या हो’

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०७७, मंगलवार ०४:३५

काठमाडौं । अभिनेता भुवन केसी निर्मित चलचित्र ड्रिम्सको छायांकनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले समयमा खान नपाएको, आफूलाई सेटमा छाता र कुर्सी नदिएको जस्ता विभिन्न टिप्पणी गरेकी छन् । सो फिल्मको आफू निर्देशक भएको र कलाकारलाई खान दिए-नदिएको जिम्मा प्रोडक्सनले लिएको अभिनेता भुवन केसीले बताए ।

निर्माता अभिनेता भुवन र अभिनेत्री साम्राज्ञीबीचको यो आरोप–प्रत्यारोपको चेपुवामा प्रोडक्सन म्यानेजर गणेश उप्रेती अहिले परेका छन् । नायिका साम्राज्ञीले यस्तो आरोप लगाएकोमा सो चलचित्रका प्रोडक्सन म्यानेजर गणेश सापकोटाले दुःख व्यक्त गरेका छन् । सोमबार राजधानी दैनिकसँग कुरा गर्दै उनले भने, ‘सो चलचित्रमा कलाकारलाई खाना मात्र हैन, अप्पर मुस्ताङमा छायांकन हुँदासमेत कलाकारको मागबमोजिम मध्यरात पनि नभनी चुरोट, रक्सीदेखि नसालु पदार्थसमेत खोजेर ल्याइदिएको छु । तर, एक जना नायिकाले मेरो प्रोडक्सन निगरानीमा राम्ररी खान पाएन, छायांकन स्थलमा अनमोलभन्दा मलाई भेदभाव भयो भन्नु मिथ्या कुरा हो ।’ कलाकारको नाम नदिए पनि उनले सुटिङमा केही कलाकारलाई गाँजासमेत मगाएर नियमित आफूले खुवाउनुपरेको सुनाए ।

दुई सातादेखि भुवन र साम्राज्ञीबीचको आरोप–प्रत्यारोपसँगै आफूमाथि लागेको आरोपले सुत्न नसकेपछि हेटौंडाबाट मिडियामा बोल्न काठमाडौं आएको सापकोटाले स्पष्ट पारे ।

सो चलचित्रमा साम्राज्ञीलाई उनका मामा एवं निर्माता कलाकार रवि बस्नेतले ल्याएको सापकोटाको कथन छ । फिल्मको एक तिहाइ छायांकन हुँदासमेत साम्राज्ञीको मामा बस्नेत नै निर्माता भएको जनाउँदै सापकोटाले भने, ‘फिल्ममा सुरुमा बस्नेतलाई नै निर्माता भनेर चिनाइयो र उहाँले सुरुको मुस्ताङको छायांकन र दोस्रो चरणको पोखराको छायांकनका खर्च तिर्न नसकेपछि भुवन केसी निर्माताका रूपमा प्रस्तुत भएर फिल्मका छायांकन सम्पन्न गरेका हुन् ।’ सुटिङका लागि लगेको एक दर्जन छाता मुस्ताङको छायांकनमा दोस्रो दिनमै सबै हावाले भाँचेपछि त्यहाँ छाता ओढाउन नसकेको उनले बताए, ‘त्यहाँ मान्छे उडाउने हावा चलेका कारण अनमोल, साम्राज्ञी र अरू कलाकार कसैलाई पनि पछि छाता ओढाउन सकेनौं ।

समयमा खाना खुवाउने, छाता ओढाउने भनेर अनमोल र साम्राज्ञीलाई एकएक जना सहयोगी केटी दिइएको थियो । अर्कोतर्फ साम्राज्ञीको खानपिन र केयरको जिम्मा त्यतिबेला उहाँकै मामा रविजीले लिनुभएकाले मलाई किन यस्तो आरोप लगाइयो भन्ने बुझ्न सकेको छैन ।’

करिब १ सयवटा चलचित्रको प्रोडक्सन आफूले हेरेको र अहिलेसम्म कुनै पनि कलाकार प्राविधिकलाई छायांकनको क्रममा खानपिनमा कुनै भेदभाव नगरेको पनि गणेश सापकोटाले बताए, ‘कलाकार र प्राविधिकलाई समयमा खान नदिँदा उनीहरू कमजोर र बिरामी हुन्छन्, जसका कारण चलचित्रको छायांकन नै रोकिन्छ । त्यसैले, हामीले कलाकारलाई समयमै खाना खुवाउने र उहाँहरूलाई आराम गराउनेमा समेत ध्यान दिन्छौं,’ उनले अगाडि थपे, ‘सुटिङमा कलाकारलाई छाता नओढाउँदा घाम र पसिनाको कारण मेकअप बिग्रने र चलचित्रको दृश्यमा असर पर्ने भएकाले कलाकारको स्वास्थ्यसँगै मेकअप जोगाउन पनि छाता ओढाउनुपर्ने हुन्छ ।’ जोमसोममा आफूले कुनै पनि कलाकारलाई छाता ओढाउन नसके पनि पोखरामा आएपछि सबै कलाकारलाई सुटिङमा छाता ओढाएको पनि उनले स्पष्ट पारे । आफूले चलचित्र ड्रिम्सको छायांकनमा कलाकारलाई हरेक स्थानमा बस्न कुर्सी उपलब्ध गराएको र कोही पनि जमिनमा बस्नु नपरेको पनि उनले दाबी गरेका छन् ।

फिल्म निर्माण भएर दर्शकमाझ आएको ६ वर्षपछि अभिनेत्री साम्राज्ञीले के कारणले आफूलाई सो फिल्मको छायांकनमा विभेद भएको आरोप लगाउनुभयो सो बुझ्न नसकेको पनि सापकोटाले बताए । रवि बस्नेतले लगानी नगर्ने भन्दै सो फिल्मबाट बाहिरिएपछि एक महिना फिल्म रोकिएको र त्यसपछि भुवन केसीले निर्माणको जिम्मा लिँदाको घटनालाई स्मरण गर्दै उनले भने, ‘फिल्म पुन सुटिङ भएको तीन दिनसम्म पनि नायिका साम्राज्ञी छायांकनमा नआएपछि हामीले कारण सोध्दा ५ लाख रुपैयाँ अरू पैसा थपेपछि मात्र सुटिङमा आउने कुरा उहाँले गर्नुभयो । सुरुको सम्झौताविपरीत उहाँले थप पैसा माग्दा काम रोकियो ।’ त्यसपछि आफूहरूले थप १ लाख रुपैयाँ दिएर अनुरोध गरेपछि साम्राज्ञीले बाँकी छायांकन सम्पन्न गरेको पनि सापकोटाले बताए ।

छायांकनको क्रममा अभिनेत्री साम्राज्ञीले विशेष र फरक खानाको माग कहिल्यै नगरेको र जस्तो समस्या भए पनि आफूलाई बताउने गरेको पनि सापकोटाले दाबी गरे, ‘उनको कुशल अभिनय र मसँग आफ्ना समस्या सुनाउने बानीले गर्दा मैले तिमी अब नेपालकी उत्कृष्ट नायिका हुन्छांै भनेको थिएँ । ड्रिम्सपछि आजसम्म पनि उनी स्टार अभिनेत्रीको रूपमा चलचित्र क्षेत्रमा चिनिएकी छन् ।’ अहिलेको जस्तो अनावश्यक टीकाटिप्पणी र विवादमा नफसी अघि बढ्ने हो भने साम्राज्ञीको भविष्य नेपाली चलचित्रमा अझ राम्रो रहेको पनि सापकोटाले राजधानीलाई बताए ।
डब्बु क्षत्री/राजधानी दैनिकबाट