६ बैशाख २०८१, बिहीबार
Follow Us

कतारमा कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई पुनः रोजगारीको अवसर

sarusaru
६ श्रावण २०७७, मंगलवार ०९:३५

काठमाडौं। कतारमा कोरोनाभाइरसको महामारीका कारण बेरोजगार भएका वा महामारीका कारण रोजगारी सम्झौता रद्द गरिएका आप्रवासी कामदारहरुका लागि पुनः रोजगारीको अवसर खुल्ला भएको छ । कतारको प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतार उद्योग बाणिज्य महासंघसँगको सहकार्यमा पुनः रोजगारीको लागि विकल्प खुला गरेको हो ।

मन्त्रालयले पुनः रोजगारीका लागि कतार उद्योग बाणिज्य महासंघको वेबसाइटमा एउटा अनलाइन प्लेटफर्म सुरु गरेको छ जहाँ रोजगारी गुमाएका आप्रवासी कामदारहरुले आफ्नो विवरण भर्न सक्नेछन् । यहाँ भरिएका विवरणका आधारमा कतारका कम्पनीहरुले आफूलाई चाहिएको दक्षता भएका कामदारहरुलाई पुन सम्झौता गरेर काममा राख्न सक्नेछन् ।

यी विवरणका आधारमा कतारका जुनसुकै कम्पनीले जुनसुकै कामदारलाई पनि आफ्नो आवश्यकताका आधारमा अनुबन्ध गर्न सक्नेछन् । यसो हुँदा रोजगारी गुमाएका कामदारले पहिले काम गरिरहेको कम्पनीमा काम नभएको अवस्थामा उनीहरुलाई अर्को कम्पनीले लिन सक्नेछ । कामदारहरुले आफ्नो विवरण भर्दा आफ्नो कतार आइडी, पासपोर्ट, सीभी र आफैंले हस्ताक्षर गरेको काम गर्ने चाहना अभिव्यक्त गरिएको पत्र संलग्न गर्नुपर्नेछ ।

महामारीअघि कतारमा करिब साढे ३ लाख कामदार कार्यरत रहेको अनुमानित तथ्यांक भएकोमा कति बेरोजगार भए भन्ने यकिन तथ्यांक आइसकेको छैन । केही नेपाली भने नेपाल फर्किसकेका छन् र केहीले फर्किने इच्छा देखाएका छन् । यद्यपि पुनः रोजगारीको यो अवसरपछि भने फर्किन चाहेकाहरू नफर्किने सम्भावना पनि छ ।

कतारमा पुनः रोजगारीको लागि नाम दर्ता गराउन चाहनेले तलको लिंकमा क्लिक गरी त्यसपछि खुल्ने फाराम भरेर आवश्यत कागजात समेत अपलोड गर्नुपर्नेछ ।

डिसी नेपाल