१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसमा हिन्दुधर्मलाई महाधिवेशनको मूल एजेन्डा बनाउने को को हुन् ?

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७७, शुक्रबार ०३:३८

काठमाडौं । आसन्न १४औं महाधिवेशनले नेपाली कांग्रेसभित्र आन्तरिक ऊर्जा बलियो बनाउने अपेक्षा छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल सिद्धान्त बिरानो बन्दै गएको कांग्रेस अहिले महाधिवेशनको तयारीमा छ ।

आफैंभित्र रुपान्तरण र पुस्तानान्तरणको खाँचो परेको कांग्रेसले महाधिवेशनमा उठाउनुपर्ने एजेन्डाहरुको विषयमा चौतर्फी चासो र चिन्ता छ ।

तर, कांग्रेसभित्रका केही समूह हिन्दुधर्म र राज्य महाधिवेशनको मूल एजेन्डा बनाउने तयारीमा होमिएका छन् । २०७५ साल पुसमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा धर्मनिरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्न नेतृत्वलाई व्यापक दबाब पर्‍यो ।

महाधिवेशनपश्चात् शक्तिशाली मानिएको महासमिति बैठकको ‘फोरम’मा ५० प्रतिशत सदस्यहरुले हस्ताक्षर गरेर हिन्दुधर्म र हिन्दुराज्यको नीति अंगिकार गर्न नेतृत्वलाई दबाब दिए ।

१४ सय सदस्य रहेको महासमिति फोरममा ७०० भन्दा बढीले हस्ताक्षर संकलन गर्दै पार्टीको विधान र देशको संविधानमा सनातन हिन्दुराष्ट्र लेख्न माग गरे । २५ प्रतिशतभन्दा बढीले हस्ताक्षर गरेको उक्त एजेन्डामा मूलभूत छलफल हुनसकेन ।

तर, कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जोडतोडका साथ हिन्दुधर्मको ‘कार्ड’ एजेन्डा बन्ने भएको छ ।

पार्टीमा अहिले सुषुप्त भएको हिन्दुधर्मको ‘च्याप्टर’ तत्कालीन केन्द्रीय सदस्य स्व. खुमबहादुर खड्का समूहको हो । यो समूह पार्टीमा अझै उत्तिकै सक्रिय छ । यसमा कोइराला परिवारको पनि जोडबल देखिन्छ ।

किनभने, दुई वर्षअघि सम्पन्न भएको महासमिति बैठक महामन्त्री शशांक कोइरालामात्र होइन, केन्द्रीय सदस्य शेखर कोइरालाले पनि १४औं महाधिवेशनमा हिन्दुराष्ट्रको पक्षमा दुईतिहाइ मत पुग्नसक्ने संकेत गर्नुभएको थियो ।

तर, पार्टीका शुभचिन्तकहरु भने कांग्रेसभित्र धर्मको विषयमात्र प्राथमिकतामा पर्नु उपयुक्त नहुने तर्क गर्छन् ।

कम्युनिस्ट शासनबाट जनसरोकारको विषय ओझेल पर्दा कांग्रेसले महाधिवेशनबाट जनतामुखी राज्य व्यवस्था निर्माणको भूमिका खेल्नु उसको दायित्व हो ।

त्यसो त कांग्रेसको लोकतान्त्रिक चरित्र खोजी गर्नु महाधिवेशनको अर्को मुख्य एजेन्डा बन्नुपर्छ । वर्तमान नेतृत्व सिद्धान्तबाट विचलित भएको बेला राज्य रुपान्तरण गर्न नेतृत्व परिवर्तन महाधिवेशनको एजेन्डा बन्नुपर्ने विश्लेषण हुने गरेको छ ।

केन्द्रीय नेतृत्वमा रहेका नेताहरुको सोचाइमा हिन्दुधर्मको एजेन्डा जनताको पार्टीप्रति घट्दो आकर्षण र आउँदो चुनाव जिताउने गतिलो मसला पनि बन्न सक्ला ।

तर, पार्टीभित्र हराएको आन्तरिक लोकतन्त्र, राष्ट्रियताका सवाल, खस्किँदो अर्थव्यवस्था, बदलिँदो परिवेशमा सामाजिक रुपान्तरणका लागि संरचना परिवर्तन, शैक्षिक तथा बेरोजगार युवाहरुको मुद्दा तथा स्वयं पार्टीभित्र नेतृत्व हस्तान्तरणको एजेन्डा कांग्रेसले नबनाउने हो भने उसलाई इतिहासमा गर्व गर्ने अधिकार नरहन सक्छ ।

इमेजखबरबाट