१२ बैशाख २०८१, बुधबार
Follow Us

रातो मच्छिन्द्रनाथको रथारोहण आज हुँदै

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७७, शनिबार ०६:१४

काठमाडौं । वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले निकालेको १२ बजेर १५ मिनेटको साइतमा पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो ।

हाल मच्छिन्द्रनाथलाई पाटनको तःबहाल पाटीमा राखिएको छ । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो ।

यस वर्ष कोरोना भाइरस संक्रमणका कारण यही असार १० गतेदेखि मात्रै रथ निर्माण थालिएको थियो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय गरिएको छ ।

हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा भएपनि यो बर्ष रथारोहणको टुंगो लागेको छैन ।

पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मछिन्द्रनाथको जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुने परम्परा छ । तर यस वर्ष कोरोना महामारीका कारण जात्रा पछाडि धकेलिएको छ ।