१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री केपी ओलीको दुवै पद धरापमा, भोलि नै निर्णय हुने

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०७७, सोमबार ११:२८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद फुटको तहमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा नआए अर्को अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले बहुमतबाटै निर्णय गर्ने निष्कर्षमा पुगेपछि नेकपा फुटको संघारमा पुगेको हो ।

प्रधानमन्त्री ओलीकोको कार्यशैलीबाट पार्टी र सरकार दुबै चल्न नसक्ने निष्कर्ष निकालेका अर्का अध्यक्ष दाहाल र नेपालसहितका नेताहरु अब बहुमतबाटै निर्णय लिने पक्षमा उभिएका छन् ।

सोमबार दिनभरि नै प्रधानमन्त्री ओली पक्ष बालुवाटारमा र प्रचण्ड पक्ष खुमलटारमा आ–आफ्नो रणनीति बनाउन व्यस्त थिए । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा नदिने अडानमा ओली रहेका छन् । यी दुवै पदमा टिकी रहने ओली पक्षले जुनसुकै हत्थकण्डा अपनाउन सक्ने गरी रणनीति तयार पारेर बसेको छ ।

पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक भोलि मंगलबारका लागि बोलाइएको छ । पछिल्लो पटक साउन ६ गते कार्यकर्तालाई बाडीपहिरो उद्दारमा पठाउने निर्णय गर्दै एक हप्ताका लागि बैठक स्थगित गरेको थियो ।

वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतीय प्रक्रियाबाट निर्णय गरिने सञ्चारमाध्यमलाई बताएका छन् । सोमबार बिहान दाहाल निवास खुमलटारमा दाहाल, नेपाल, खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरुबीच छलफल भएको थियो ।

छलफलमा स्थायी कमिटीको बैठक स्थगित नगर्ने र गर्न खोजेमा दाहालले बैठक सञ्चालन गर्ने समझदारी बनेको छ । पार्टी अनिर्णयमा रहन नसक्ने भएकाले सहमति नभए बहुमतले बैठकलाई टुंग्गोमा पु-याउनुपर्ने नेताहरुको भनाइ छ ।