४ बैशाख २०८१, मंगलवार
Follow Us

नेकपा विवाद:: बामदेवको छ बुँदे अन्तिम अस्त्र

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७७, मंगलवार ०८:०३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी फेरि फुटको संघारमा पुगेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको टकराव बढ्दै जाँदा फुटको संघारमा पुगेको हो ।

अब दुवै पक्ष आ-आफ्नो अडानबाट पछि नहट्ने अवस्थाा पुगिसकेका छन् । तर, पार्टी फुट्न नदिने उपाध्यक्ष बामदेव गौतमले अन्तिम अस्त्र फालेका छन् ।

उनले दुवै अध्यक्षलाई सहमतिको बिन्दु तयार गर्ने गरी प्रस्ताव गरेका छन् । बामदेवले केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्रीको जिम्मेवारीमा रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने गरी सहमति बनाउन प्रस्ताव गरेका छन् । यसमा सहमति गर्न उनले ओली र प्रचण्ड दुवैलाई प्रस्ताव गरेका छन् ।

बामदेवको सहमतिको प्रस्तावमा सरकारका कतिपय निर्णयहरु पार्टीसँग परामर्श गर्ने विषय समेत उल्लेख छ । विशेषगरी सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीमा छलफल गरी तय गर्ने गरी मापदण्ड बनाउने उल्लेख छ ।

मन्त्रिपरिषद्को पुर्नगठन र संवैधानिक नियुक्तिहरु सहमतिमा गर्ने विषय पनि उल्लेख छ । अख्तियार देखि संवैधानिक निकायमा आयुक्त तथा सदस्यहरुको पद खाली छ । त्यसमा पनि नेकपाभित्र कुरा मिल्न सकेको छैन । यसलाई मिलाएर प्याकेजमै सहमति गर्ने बामदेवको प्रस्ताव रहेको छ ।