१३ बैशाख २०८१, बिहीबार
Follow Us

कमलादीबाट बरामद सुन आधा किलो मात्र सक्कली, अरु सबै नक्कली

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०७७, मंगलवार ०८:३०

काठमाडौं । प्रहरीले बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको खुलेको बताए ।

उनका अनुसार विस्कुट आकारको दर्जनौँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको छ । बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको ज्ञवालीले बताए ।

यस्तै प्रहरीले गोली नभएको दुई पेस्तोल पनि बरामद गरेको छ । प्रहरीले सुन कारोबारी सक्रिय रहेको सूचनाका आधारमा मंगलबार बिहान करिब ९ बजे काठमाडौंको कमलादीबाट सुनजस्तो पहेलो धातु बरामद गरेको थियो ।

बा ६ च ५५११ नम्बरको स्कार्पियो गाडी रोक्न खोज्दा गाडीबाट सेतो रङको कपडाको झोला फ्याँकिएको थियो भने गाडीसहितको मानिस भाग्न सफल भएका थिए । सो झोला हेर्दा नक्कली सुन र दुई पेस्तोल बरामद भएको हो । फरार भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।