१३ बैशाख २०८१, बिहीबार
Follow Us

दाहालको अध्यक्षतामा स्थायी कमिटी बैठक, प्रधानमन्त्री ओली अनुपस्थित

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०७७, मंगलवार ०८:३३

काठमाडौं । स्थायी समिति बैठक राख्ने विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चर्किएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठक स्थगित गरेपछि विवाद चर्किएको हो ।

ओलीले बैठक स्थगित भएको सूचना गरे पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका हुन् । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले थप छलफल आवश्यक भएको भन्दै रोकेका थिए ।

बामदेवको ६ बुँदे प्रस्ताव
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको यो कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।

पार्टी भित्र देखिएको विवादमा सहमतिका लागि भन्दै उनले आज छ बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन् । उनको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमललाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिन प्रस्ताव गरिएको छ ।

प्रस्तावमा प्रधानमन्त्रीको दैनिक कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने उल्लेख छ । तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने प्रस्ताव उपाध्यक्ष गौतमले राखेका छन् ।

त्यस्तै पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषदको पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने पनि प्रस्ताव गरिएको छ । संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने उनको प्रस्ताव छ ।

त्यस्तै गौतमले प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरेका छन् । पार्टीको बैठक पार्टी कार्यालयहरुमा गर्न पनि गौतमले माग गरेका छन् ।