१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दोस्रो एनआरएनए विज्ञ सम्मेलनः कोरोनाको प्रभावमा केन्द्रित रहने, २ सय वटा कार्यपत्र प्रस्तुत हुने

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७७, मंगलवार १०:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारको सहकार्यमा नेपालमा दोस्रो विश्व विज्ञ सम्मेलन हुने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलन आयोजना हुने भएको हो ।

एनआरएनएले आइतवार विज्ञहरु सहभागी भर्चुवल बैठकको आयोजना गर्दै सो सम्मेलनको खाका प्रस्तुत गरेको थियो । बैठकमा शुभकामना मन्तव्य गर्दै अध्यक्ष पन्तले संघको आयोजनामा भएको पहिलो विज्ञ सम्मेलन फलदायी भएको बताउँदै दोस्रो सम्मेलनलाई समेत नेपाल सरकार र विदेशमा रहेका नेपाली समुदायले चासोका साथ हेरेको बताए ।

अध्यक्ष पन्तले गैरआवासीय नेपालीको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालमा भित्र्याउन मुल उद्देश्य अनुरुप समृद्धि नेपालको सपना पूरा गर्न सो सम्मेलन उपयोगि हुने विश्वास गरे ।

संघका महासचिव तथा सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माका अनुसार सम्मेलनमा कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका विषयलाई लिएर विभिन्न क्षेत्र विज्ञहरुले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कोरोना भाइरसको प्रभाव सामान्य हुदै गए काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौँ विश्वविद्यालयमा सम्मेलन आयोजना गरिने संघले जानकारी दिएको छ । कोरोना भाइरस कोभिड–१९ को प्रभाव रहिरहेमा सो सम्मेलन समेत भर्चुवल सम्मेलनको रुपमा परिणत गर्ने बताएको छ ।

बैठकमा संघका उपाध्यक्षहरु डा. बद्री केसी, मन केसी, सोनाम लामा, कोषाध्यक्ष महेश श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थिती थियो ।

सम्मेलनमा चारवटा शीर्षकमा पूरा सत्र र विभिन्न १५ शीर्षकमा सम्मेलनको आयोजना गर्ने संघको तयारी रहेको छ ।

सम्मेलन आयोजक समितिका सहसंयोजक डा. हरि दाहालका अनुसार सम्मेलनमा डा विश्व पौडेल र रञ्जित महतोको संयोजनमा ‘कोभिड–१९ इम्प्याक्ट अन नेपाल्स इकोनोमिक एण्ड पाथ अफ रिकभरी’, डा द्रोण रसाइली र डा पुरु श्रेष्ठको संयोजनमा ‘प्रिपेरेशन फर पानडामिक एण्ड नेचुरेल डिजास्टर रिस्क म्यानेजमेन्ट’, डा उत्तमबाबु श्रेष्ठ र डा सुरेशकुमार डङ्गोलको संयोजनमा ‘साइन्स टेक्नोलोजी एण्ड इनोभेसन पोलिसी इम्प्लिमेन्टेशन’ तथा डा राजु अधिकारीको संयोजनमा ‘रिसर्च, इनोभेसन एण्ड कमर्शलाइजेशन’ विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यस्तै, डा जगदीश तिमल्सिनाको संयोजनमा ‘एग्रिकल्चर एण्ड फुड सेक्युरिटी’, डा देवी बस्नेतको संयोजनमा ‘वायोमेडिकल टेक्नोलोजिस’, रञ्जित महतो र अनलराज भट्टराईको संयोजनमा ‘फिनान्सियल इन्भेष्टमेण्ट’, डा ज्ञानेन्द्रप्रसाद जोशी र लोकराज शर्माको संयोजनमा ‘लिभिराजिङ फिनटेक फर इकोनोमिक ट्रान्सफरमेशन’, डा ज्ञानेन्द्रप्रसाद जोशीको संयोजनमा ‘इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी’, डा राजु अधिकारी र डा रामेश्वर अधिकारीको संयोजनमा ‘इनोभेसन एण्ड स्टारटप्स’, डा तारा सिग्देल र डा नारायण अधिकारीको संयोजनमा ‘इन्टरसेक्सन इन नेचुरल साइन्सेज’ तथा डा द्रोण रसाइली र डा अर्चना अमात्यको संयोजनमा ‘लाइफ एण्ड हेल्थ साइन्सेज’ शीर्षकमा सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने छन् ।

साथै रतन झाको संयोजनमा ‘फिजिकल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट’, डा सञ्जिव सापकोटाको संयोजनमा ‘पब्लिक हेल्थ एण्ड पानडेमिक मिटिगेशन’, डा कृष्ण अधिकारीको संयोजनमा ‘सोसल साइन्सेज’, डा विनायक भण्डारीको संयोजनमा ‘सस्टेनेवल इनर्जी’ डा गोपी उप्रेती र डा पुरु श्रेष्ठको संयोजनमा ‘सस्टेनेवल इन्भाइरनमेण्ट’, डा अम्बिका अधिकारी र किशोर थापाको संयोजनमा ‘अर्वान डेभलपमेन्ट’ तथा डा उत्तम गौली र डा उमा प्रधानको संयोजनमा ‘भोकेशनल एजुकेशन शीर्षकमा आफ्ना अवधारणापत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।