१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा एकै दिन ३ सय ११ जना संक्रमित थपिए, प्रहरी प्रधान कार्यालयका २३ जनामा कोरोना पुष्टि

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०७७, मंगलवार १०:५८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२१ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ८७५ पुगेको छ । जुन कूल सङ्क्रमितको ७२.८ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ३३१ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतम जानकारी दिए । हालसम्म सङ्खुवासभा, भोजपुर, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उनले बताए । यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका थप २३ जनामा संक्रमण
प्रहरी प्रधान कार्यालयमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालयमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारीमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा आइतबार संक्रमण पुष्टि भएको थियो। परीक्षणका क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।