६ बैशाख २०८१, बिहीबार
Follow Us

पर्सामा सेना, प्रहरी र कैदीबन्दी कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७७, बुधबार ०४:१३

पर्सा । पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा २ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

संक्रमितमध्ये ५ जना बालबालिका, १० जना महिला र १९ जना पुरुष रहेका छन् । संक्रमितमा सेना एकजना, प्रहरी तीन जना, कैदीबन्दी छ जना, कारागारका कर्मचारी दुई जना, स्वास्थ्यकर्मी एक जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका एक जना व्यक्ति पनि छन् ।

संक्रमितमध्ये २० जना श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सिया वीरगञ्जका बासिन्दा हुन । वीरगञ्जमा समुदाय स्तरमा संक्रमण फैलिएको आशंका गरिएको छ । ५० सैय्या क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितलाई राखिएको छ ।

पछिल्लोपटक संक्रमण देखिएका अधिकांशलाई होम आइसोलेसनमा राखिएको छ । वीरगञ्जमा स्वाब संकलन गरिएका १५ सयको रिपोर्ट आउन बाँकी छ ।