१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कैलालीको पूर्वी क्षेत्र जलमग्न, जनजीवन प्रभावित

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७७, बुधबार ०४:१७

कैलाली । अविरल वर्षाका कारण कैलालीको पूर्वी क्षेत्र जलमग्न भएको छ । गएराति देखि टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी, जोशिपुर गाउँपालिका अधिकांश क्षेत्र जलमग्न भएका हुन् ।

अविरल वर्षाका कारण मोहना, पथरैया, काँढा नदीको पानी गाउँमा पसेको हो । जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ घर डुबानमा परेका छन । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन् ।

काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनीका ६० बढी घर डुबानमा परेका छन् । भजनीमै ढुसी गाउँको चेकड्याम भत्काएर बाढी वस्तीमा पसेको छ । एक सयभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीले पुर्‍याएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टीकापुरको सिम्रेनी, बसन्ता, शाहीपुर, घिया, पुछरी, कटानपुर लगायत क्षेत्र जलमग्न छन । भजनी नगरपालिका अधिकांश भागमा पानी पसेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधरलगायतका नदीमा बाढी आउने खतरा औल्याइएको छ । आज दिउँसो र राति सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना विभागले औल्याएको छ ।