१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाका कारण साउदीअबरमा कार्यरत पत्रकार श्रेष्ठको मृत्यु

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७७, बुधबार ०९:०८

साउदी । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण साउदीमा कार्यरत एक नेपाली पत्रकारको मृत्यु भएको छ ।

लामो समयदेखि साउदीमा कार्यरत स्याङजाको गल्याङ नगरपालिका ८ का पत्रकार रोशन श्रेष्ठको कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

एनए मिडियाका प्रवन्ध निर्देशक समेत रहेका श्रेष्ठको दमामस्थित सेन्ट्रल अस्पतालमा आइतबार उपचारका क्रममा निधन भएको हो । उनलाई संक्रमण हुनुभन्दा पहिले दमको समस्या रहेको समेत बताइएको छ ।

कोरोना संक्रमण भएपछि ३५ दिनदेखि उक्त अस्पतालमा उपचार गराइरहेका उनको मृत्यु भएको हो । ‘अत्यन्त मर्माहत र निशव्द छु, भौतिक शरीर अस्ताए पनि हामी सबैको मन मस्तिष्कमा सदैब समिपमा रहने असल र इमानदार आत्मिय मित्र प्रति हार्दिक श्रद्धाञ्जलि भन्नू बाहेक अरु बाकि केहि रहेन् ।’ गैरआवासीय नेपाली संघ साउदीका अध्यक्ष तेज बहादुर थापाले श्रद्धान्जलि व्यक्त गर्दै लेखेका छन् ।

स्याङजा सहयोग समाज लगायत साउदीमा रहेका विभिन्न नेपाली संघसंस्थामा आवद्ध रहेर काम गरेका श्रेष्ठको मृत्युले साउदीका नेपाली स्तब्ध भएको एनआरएनए आइसीसी सदस्य यास्मीन बेगमले बताएकी छन् । ‘जस्ले दैनिक रुपमा कोरोना सम्बन्धी समाचार दिँदै सिंगो नेपाली समाजलाई सुसूचित गर्नुहुन्थ्यो, आज आफुनै यस संसार छोड्नु पर्यो ।’ श्रेष्ठको मृत्युमा दुःख व्यक्त गर्दै लेखेकी छन् ।

श्रीमतीसँगै साउदीमा रहँदै आएका श्रेष्ठ केही समयअघि मात्र नेपाल आएर श्रीमतीलाई काठमाडौंमै छाडेर आफूमात्र साउदी फर्किएका थिए । उनको परिवारमा आमा, भाइ र श्रीमती रहेको बताइएको छ ।

गैरआवासीय नेपाली संघको शनिबार सम्मको अपडेट अनुसार साउदीमा कोरोना संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् भने आइतबार श्रेष्ठको पनि संक्रमणका कारण मृत्यु भएभएको बताइएसँगै ज्यान गुमाउनेको संख्या १० पुगेको हो ।