६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएले रगत सङ्कलन मोबाइल बस उपलब्ध गराउने

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७७, बिहीबार ०९:२२

टेक्सस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा रगत सङ्कलनदेखि रगत अनुसन्धानको क्षेत्रमा काम अघि बढाएको छ । सङ्घले रगत सङ्कलनका लागि मोबाइल बस सेवाको स्थापना गर्नेदेखि रगत अनुसन्धान केन्द्र निर्माणकार्य अघि बढाएको हो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा सङ्घले रगत सङ्कलन गर्न मोबाइल बस सेवाअन्तर्गत पहिलो बस अबको केही महिनाभित्र उपलब्ध गराउने तयारी रहेको सङ्घका सचिव गौरीराज जोशीले जानकारी दिनुभयो । झण्डै रु एक करोड लागतमा दुई रगत सङ्कलन मोबाइल बसको प्रबन्ध गर्ने गरी सङ्घले योजना अघि बढाएको उहाँको भनाइ छ । सचिव जोशीले पहिलो बस उपलब्ध गराउनका लागि आवश्यक पर्ने रकम बराबरको सहयोगको प्रतिबद्धता आइसकेकाले अहिले कोरोनाले प्रभावित अवस्था सामान्य भए अक्टोबरसम्ममा पहिलो बस उपलब्ध गराइने उल्लेख गर्नुभयो । त्यसलगत्तै फेरि आर्थिक सहयोग सङ्कलन गरी अर्को बस उपलब्ध गराइने जानकारी जोशीले दिनुभयो ।

सङ्घले रगत सङ्कलन बस सेवादेखि लिएर रगत अनुसन्धान केन्द्र निर्माणका लागि चितवनलाई रोजेको छ । चितवनको भरतपुर नगरपालिकाले समेत केन्द्रका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइसकेको छ । अनुसन्धानमूलक रूपमा बहुआयामिक महत्वका साथ अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको बताउँदै सचिव जोशीले अनुसन्धान केन्द्रलाई चरणबद्ध विकास गरिने र सोहीअनुरूप पहिलो चरणमा ल्याबसहितको केन्द्र बनाएर शुरुआत यसै वर्ष गर्ने तयारी सङ्घको रहेको जानकारी दिनुभयो ।

“अनुसन्धान केन्द्र निर्माण भए यसले धेरै दृष्टिकोणबाट नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्छ । यसलाई हामीले निकै महत्वको प्रोजेक्ट मानेर काम अघि बढाएका छौँ”, सचिव जोशीले भन्नुभयो, “रगतसँग सम्बन्धित अनुसन्धानका लागि एउटा महत्वपूर्ण स्थल यो केन्द्र बन्नेछ । यसमा धेरैको सहकार्य हुन सक्दछ । अनुसन्धानकर्मी र मेडिकल विद्यार्थीका लागि यो एउटा अनुसन्धान थलो बन्नेछ ।”

नेपालको लगभग मध्यभागमा रहेको र दुर्घटनाको चार्टहरु हेरेर केलाउँदा चितवनबाट लगभग १२ देखि १७ जिल्लामा रगतको व्यवस्था गर्नुपर्ने देखिएकाले चितवनलाई रोजिएको सचिव जोशीले बताउनुभयो ।

यसैगरी सङ्घले काठमाडौँमा सार्वजनिक शौचालय निर्माण गर्ने पूर्ववत् निर्णयअनुरूप पहिलो सार्वजनिक शौचालय कलङ्कीमा आउँदो छ महिनाभित्र निर्माण गरिसक्ने भएको छ । काठमाडौँमा व्यस्त पाँच स्थानमा सार्वजनिक शौचालय बनाउने सङ्घको तयारीअनुरूप पहिलो शौचालय कङ्लकीमा निर्माण गरिने तथा त्यसको सञ्चालन प्रक्रिया र संरक्षणको अवस्था हेरी थप स्थानमा शौचालय बनाइने सचिव जोशीले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सङ्घले सार्वजनिक शौचालय बनाउने गरी योजना अघि सारेको थियो । “निर्माणभन्दा पनि यसको सञ्चालन र संरक्षणको विषय महत्वपूर्ण हो । त्यसका लागि हामीले काम गरिरहेका छौँ”, सचिव जोशीले राससलाई भन्नुभयो, “अहिले कलङ्कीमा एउटा शौचालय छ महिनाभित्र बनाइसक्छौँ, अनि यसलाई हेरेर बाँकी योजना अघि बढाइनेछ ।”
– सुरज भण्डारी