१२ बैशाख २०८१, बुधबार
Follow Us

३५ हजार ८ सय ४ नेपाली स्वदेश फर्किए, ५४ उद्धार उडानलाई अनुमति


१५ श्रावण २०७७, बिहीबार २२:०६

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा स्वदेश फर्काउन कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले थप ५४ वटा उडानलाई अनुमति दिएको छ । अनुमति दिइएकाको उद्धार उडान शुक्रबारदेखि अर्को शनिबार (साउन २४ गते) सम्म हुनेछ ।

सीसीएमसीका अनुसार, चौथोपटक अनुमति दिइएका मुलुक तथा सहरहरुमा जापान, मलेसिया, (चीन) कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुबेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन् । नेपालीलाई नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, जजिरा एयरलायन्स, इतिहाद एयर, एयर अरेबिया, फ्लाई दुबई, कतार एयर र मालिन्दो एयरले ल्याउनेछन् ।

सीसीएमसीले यो अवधिमा अमेरिका, दक्षिण कोरिया, युरोपबाट नेपालीलाई उद्धार गर्नुपर्ने भए परराष्ट्र मन्त्रालय र सीसीएमसीको सिफारिसमा अनुमति दिइने जनाएको छ । चैत ९ गतेदेखि व्यावसायिक उडान रोक लगाएको सरकारले जेठ २९ देखि उद्धार उडान खुला गरेको थियो । सीसीएमसीले बुधबारसम्म २ सय ३१ वटा अन्तर्राष्ट्रिय उद्धार उडान भइसकेको जनाएको छ ।

भारतसहित २९ वटा मुलुकबाट भएका ती उद्धार उडानबाट ३५ हजार ८ सय ४ नेपाली स्वदेश फर्किसकेका छन् । यी उडानबाट २ सय २२ वटा नेपाली नागरिकको शव पनि ल्याइएको छ ।