११ बैशाख २०८१, मंगलवार
Follow Us

लिपुलेक नजिक चिनियाँ सैनिक तैनाथ

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०७७, शनिबार ०९:४४

काठमाडौं । हालै नेपालले नयाँ नक्सामा समेटेको भूभाग, लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारत र चिनियाँ सैनिकबीच भिडन्तको अवस्था सिर्जना भएको छ । लिपुलेक नजिकै चीनले आफ्नो सैनिक तैनाथ गरेपछि भिडन्तको स्थिति सिर्जना भएको हो । भारतीय सञ्चारमाध्यम हिन्दूस्थान टाइम्सका अनुसार नेपालले छिमेकी मुलुक चीनसँग मिलेर कुनै रणनीतिक चाल त चालिरहेको छैन भनेर आशंकासमेत भारतले गरेको छ ।

समाचारमा भनिएको छ, चीनले लद्दाखपछि लिपुलेकमा सैनिक तैनाथ गर्दैछ । चीनले एक बटालियन अर्थात् एक हजार सैनिक जवान लिपुलेकमा तैनाथ गरेको छ । यसअघि नै त्यस क्षेत्रमा भारतले सैनिक उपस्थिति जनाइसकेको छ ।

भारत र चीनबीच झन्डै तीन महिनायता लद्दाखमा तनाब चलिरहेको छ । ४५ वर्षपछि गत जुन १५ मा लद्दाखको सीमा क्षेत्रमा दुई देशबीच हिंसा भएको थियो । उक्त हिंसामा परी २० भारतीय सैनिकको निधन भएको थियो । लद्दाखमा विस्तारै दुवै देशका सैनिक पछि हटे पनि अबको भिडन्त लिपुलेकमा हुने अनुमान गरिएको छ । यसको प्रमाण चिनियाँ सैनिक अर्थात् पिएलए लिपुलेक क्षेत्रमा देखापर्नु हो ।