६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतबाट उद्धार उडान मार्फत दुई सय नेपाली स्वदेश फर्किए


१७ श्रावण २०७७, शनिबार १५:०५

लन्डन । लन्डनस्थित हिथ्रो विमानस्थलबाट आज शनिबार दिउँसो दुई सयको हाराहारीमा नेपाली स्वदेश फर्किएका छन् । लन्डनबाट कतार एअरवेजको क्यूआर ००४ नम्बरको फ्लाइटबाट उडेका नेपालीहरु कतारको दोहास्थित हम्माद अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिटका लागि अवतरण गर्नेछन् ।

यसैगरी दोहाबाट भोलि आइतबार स्थानीय समय अनुसार बिहान ६ बजेर ३५ मिनेटमा काठमाण्डौका लागि उड्ने कतार एअरवेज ‘क्यूआर ३१६०’ नम्बरको जहाज नेपाली समय अनुसार दिउँसको १ बजेर ५५ मिनेटमा काठमाडौं अवतरण गर्नेछ ।

लकडाउनका कारण यूके लगायत युरोपका विभिन्न स्थानमा हजारौंको संख्यामा नेपालीहरु अलपत्र परेका छन् । लन्डनस्थित हिथ्रो विमानस्थलको टर्मिनल ५ र बेलायतको म्यानचेस्टरबाट पनि युरोपका विभिन्न स्थानका नेपालीहरु आजै स्वदेश फर्कदैछन् ।

बेलायतस्थित ट्राभल कन्सोलका निर्देशक बिराज भट्टका अनुसार आज नेपाल फर्कनेको संख्या दुई सयको हाराहारीमा रहेको छ ।

नेपाल फर्कनेमध्ये केम्यान आइल्याण्डमा पानीजहाज र होटलमा कार्यरत डेढ दर्जन नेपालीहरु र लकडाउनका कारण माल्टामा अलपत्र परेका केहि नेपालीहरु समेत रहेको भट्टले जानकारी दिए ।

लकडाउनका कारण युरोप लगायत बेलायतमा अलपत्र नेपालीहरुको उद्धार कार्यमा ट्राभल कन्सोलले संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । उद्धार कार्यमा लन्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ लगायतले पनि संयोजनकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपाल सरकारले निर्धारित गरेअनुसार अर्को हप्ता पनि नेपालका लागि उडानको तयारी भैरहेको छ । नेपाल फर्किनेहरुमा भिजिट भिसामा घुम्न आउनेको संख्या पनि निकै रहेको छ । भिजिट भिसामा लन्डन आएकी कमला खड्का पनि हर्ष एवं उत्साहका साथ ५ महिनापछी नेपाल फर्किंदैछिन्।

लकडाउनले गर्दा यसपटकको यात्रा खल्लो भएको र आफूले नियमित रुपमा सेवन गर्दै आएको औषधीका कारण बढी झन्जट खेप्नुपरेको उनले बताइन् । तेस्तै एक महिनाको लागि नेपाल जान लागेका रनहांग राई र श्रीमती देवान कुमारी राई भने फेरी लकडाउन भएर नेपालमै रोकिनुपर्ने हो कि भन्ने चिन्तामा छन् ।

बेलायतबाट गत महिना पनि दुईवटा चार्टर फ्लाइट मार्फत २ सय २९ जना नेपालीहरु नेपाल फर्किसकेका छन् । नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा जजिरा एअरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा उनीहरुलाई नेपाल फर्काइएको थियो ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार केहि दिनदेखि स्थगित गरिएको चार्टर फ्लाइटलाई जुलाई ३१ तारिखबाट पुन: चौथो चरणको लागि चार्टर मार्फत उद्धार कार्य संचालन भएको हो ।
आगामी भदौ १ गतेबाट सम्पूर्ण आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरु व्यावसायिक रुपमा संचालन गर्न पाउने घोषणा गरिसकेको छ ।