१५ बैशाख २०८१, शनिबार
Follow Us

कोरोनाबाट भारतमा २५ नेपालीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७७, आईतवार ०४:०४

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण यो साता थप २८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा थप २५ जना नेपालीको ज्यान गएको छ ।

भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र मृत्युको दर पनि बढीरहेको बताउँदै समितिका संयोजक डा संजीव सापकोटाले भारतमा विभिन्न मितिमा थप २५ नेपालीको मृत्यु भएको हो । उनका अनुसार भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । शनिवार साँझ सम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

पारिवारिक जमघटमा सहभागी ३५ नेपाली संक्रमित

यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

दोस्रो महामारी आउने सक्ने

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ । समितिले स्पेन, बेल्जियम, युके, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ । समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भवना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरु भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

उद्धार जारी, ३७ हजार ४ सय घर फर्किए
यसैबीच कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन् । गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप ५४ वटा थप उडान गर्न अनुमति दिएको छ । उद्धार उडान आगामी शनिबार (८ अगष्ट) सम्म हुनेछ ।

चौथोपटक अनुमति दिइएका मुलुक तथा सहरहरुमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन् । गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । यो साता भारतसहित २९ वटा मुलुकबाट उद्धार उडान भएको थियो ।