१५ चैत्र २०८०, बिहीबार
Follow Us

दुई ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएसँगै बग्गीखाना पूर्ण सिल

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७७, आईतवार ०९:२५

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। गत शुक्रबार दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसंगै कार्यालय परिसरमा आवत जावतमा रोक लगाएको हो ।

त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ । महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार अहिले कार्यालयको सम्पर्कमा आएकाहरुको लिस्ट तयार गरीरहेको बताइएको छ ।

महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो। क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ। उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन्। जसमा ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्रफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ।

सवारीको चाप बढी भएको ठाउँमा कम चाप हुने स्थानमा खटिएका ट्राफिकलाई ल्याएर खटाउँछौं। भएका जनशक्तिलाई नै मिलाएर परिचालन हुन्छ एसएसपी ढकालले भने। पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ।