१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूकेद्वारा गण्डकी प्रदेशलाई अक्सिजन मेशिन हस्तान्तरण

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७७, आईतवार १४:२०

पोखरा । गैरआवासीय नेपाली संघ बेलायतको तर्फबाट नेपालको ७ वटै प्रदेशमा अक्सिजन मेसिन उपलब्ध गराउने निर्णय अनुरुप नेपालको गण्डकी प्रदेशमा अक्सिजन मेसिन हस्तान्तरण गरिएको छ । आईतवार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई २ वटा अक्सिजन मेसिन (कन्सन्ट्रेटर) हस्तान्तरण गरिएको हो ।

एनआरएनए यूकेका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डम्मर घलेले एनआरएनए यूकेको तर्फबाट गण्डकी प्रदेश सरकारलाई उपरोक्त मेसिनहरु हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा एनआरएनए यूकेका सल्लाहकार नरजंग गुरुङ, सदस्य चन्द्र गुरुङ, लोक गुरुङ, भोज गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

अक्सिजन मेसिन ग्रहण पश्चात मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड- १९ को कठिन समयमा एनआरएनए यूकेको सहयोग प्रति प्रदेश सरकारको तर्फबाट आभार व्यक्त गर्दै वर्तमान परिस्थितीमा उपलब्ध गराईएका मेसिनहरु उपयोगी हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

एनआरएनए यूकेका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डम्मर घलेले गैरआवासीय नेपाली संघले नेपालको विपदमा सधै सहयोग गरेको स्मरण गर्दै अक्सिजन मेसिनको उपयोगिता बारे बताउनु भएको थियो ।

एनआरएनए युकेको कार्यसमिती बैठकले निर्णय गरे बमोजिम कोभिड १९ विरुद्ध लड्न नेपालको सात वटै प्रदेशका लागि २–२ थान गरी १४ थान अक्सिजन मेसिन (कन्सन्ट्रेटर) प्रदान गर्दैछ । एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले अब अन्य ६ वटा प्रदेशमा पनि यथाशक्य छिटो अक्सिजन मेसिन हस्तान्तरणको संयोजन गर्ने कार्य भईरहेको जानकारी दिनु भएको छ ।