१२ बैशाख २०८१, बुधबार
Follow Us

अझ राम्रो गर्ने प्रेरणा पाएकी छु

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७३, सोमबार १२:५७

विगत चार वर्षदेखि हेटौंडालाई कर्मथलो बनाएर स्पेनी नागरिक आइना बार्का सुस्तमनस्थिति बालबालिकालाई शिक्षा दिन लागिपरेकी छन् । २१ वर्षको उमेरमा नेपाल आएर समाजसेवाको क्षेत्रमा समर्पित आइनाको पे्ररणा स्रोत अभिभावक हुन् । नेपाल घुम्न आउँदा बाटामा भेटिएका तीन सुस्तमस्थितिका बालकलाई यो समाजमा सामान्य जीवन बिताउने बनाउने उनको प्रणले अहिले स्कुलको रूपधारण गरिसकेको छ । केही समयपछि नै उनको स्कुलले विस्तृत रुप लिँदैछ । उनले सञ्चालन गरेको स्कुलका नाम आशा स्पेसल एजुकेशन एन्ड रिहेभिटेसन हो भने उनले सञ्चालन गरेको गैसरकारी संस्थाको नाम हेटौडाली परिवार हो । सुस्तमनस्थिति भएका बालबालिकाप्रतिको मोह र नेपाल बसाइप्रति आइनासँग कुमार राउतले गरेको कुराकानी :

० हेटौंडासँग कसरी साइनो जोडियो ?
– चार वर्षअघि चितवन घुम्न आएकी थिएँ, त्यहाँबाट हेटौंडा आएँ । बाटोमा तीनजना सुस्तमनस्थितिका बालबालिका अलपत्र अवस्थामा देखें । उनीहरूको अवस्था देखेर मलाई धेरै माया लागेर आयो । उनीहरूको स्याहारसुसार मात्र होइन, सामान्य जीवनमा फर्काउने प्रयास गर्छु भनेर प्रण गरें । त्यसैको परिणामस्वरूप म अहिले हेटांैडामा सुस्तमनस्थिति भएका बालबालिकाको शिक्षादीक्षामा जुटेकी छु ।

० अब नेपालमै बस्नुहुन्छ ?
– मैले यी बालबालिकाबाहेक अरु केही सोचेको छैन । सुरुमा भेटेका तीन बालबालिकाको अभिभावक बन्छु भनेर मैले त्यही बेला प्रण गरेकी थिएँ । सम्भवतः म उनीहरूकै लागि बाँच्छु ।

० कति छन् बालबालिका ?
– अहिले २७ जना छन् । हामीसँग योभन्दा बढी क्षमता पनि छैन । नयाँ ठाउँमा जग्गा किनेर भवन बनाउने योजनामा छौं, त्यतिबेलासम्मका लागि यी बालबालिका मेरा लागि पर्याप्त छन् ।

० यहाँ सुस्तमनस्थिति भएका बालबालिका मात्र पढ्न पाउँछन् ?
– हो, उनीहरूलाई तीन समूहमा विभाजन गरेर पढाउने, खेलाउने र थेरापी गराउँछौं । समूह ‘क’ मा नाम ठेगाना लेख्न सक्ने छन् । समूह ‘ख’ मा सामान्य खालका छन् भने समूह ‘ग’ मा एउटा विद्यार्थीलाई एउटा शिक्षक चाहिने खालका हुन्छन् । सबै एकै तहका बालबालिका नभएकाले समूह छुटाएर पढाउँदा सजिलो हुन्छ ।

० पढाउन कठिन हुन्छ होला होइन ?
– मानसिक रूपमा अशक्त मात्र होइन, कोही त शारीरिक रूपमा पनि अपांगता भएका छन् । कसैको कुनै अंग चल्दैन, उनीहरूलाई थेपारी गराइन्छ भने सँगसँगै उनीहरूलाई व्यावहारिक शिक्षा, खानपान, सरसफाइ, शारीरिक व्यायाम गराइन्छ ।

० व्यावहारिक शिक्षा भनेको ?
– हामीसँग पाठ्यक्रम चाहिँ छैन, यद्यपि पढ्न लेख्न हामी सिकाउँछौं नै, त्यससँगसँगै सरसफाइ गरेर बस्न, खान लगाउन पनि सिकाइन्छ । सीपमूलक शिक्षा पनि हामी दिइरहेका हुन्छौं ।

० के सीप सिकाउनु हुन्छ ?
– उनीहरू यो समाजका बोझ होइनन्, उनीहरूलाई सीप सिकायो भने आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उदाहरण म यो समाजमा प्रस्तुत गर्न चाहन्छु । अहिले पनि म उनीहरूलाई माला बुन्न सिकाउँछु । उनीहरूले बुनेको माला स्पेन लगेर बेच्छु, त्यसबाट पनि केही आम्दानी हुन्छ । त्यही आम्दानीले यो स्कुल सञ्चालनमा सहयोग पुगेको छ ।

० शिक्षक कति छन् ?
– चारजना शिक्षक छन्, चारजना बाहिरबाट स्वयंसेवा गरिरहनुभएको छ । आठजनाले अध्यापन गराउँदैछौं ।

० स्कुल भवन सानो भएर नयाँ बनाउन लाग्नुभएको हो ?
– हो, बडो मुस्किलले सञ्चालन गरिरहेका छौं । एउटा कोठालाई पर्दाले बारेर काम चलाइरहेका छौं । कुनै कोठा जस्ताले बारेर काम चलाउनुपरेको छ । खेल्ने मैदान सानो छ, तर हामीसँग खेल सामग्री प्रशस्त छन् ।

० उनीहरूलाई आवासीय सुविधा पनि छ ?
– ११ जनालाई हेटांैडाको बालगृहमा राखेका छौं । बाँकीलाई घरमै लिन टेम्पो पुग्छ । बालगृहमा बस्ने बालबालिकाको खाना र स्वास्थ्य उपचार पनि मैले नै बेहोरेको छु । टेम्पो भाडामा पनि धेरै खर्च हुन्छ ।

० उनीहरूलाई सामान्य जीवनमा फर्काउन सम्भव छ ?
– सम्भव भएरै म लागेकी हुँ । अहिलेसम्म केही सुधारका संकेत पनि देखिएका छन् । सुरुका दिनमा नाक थुनेर बस्नुपर्ने बालबालिका ल्याइन्छ । उनीहरूलाई प्रत्येक घन्टाको रुटिन बनाएर पढ्न लेख्न सिकाउने, खान सिकाउने, खाइसकेपछि दाँत माझ्न सिकाउने, खेलाउने, जंगलमा हिँड्न सिकाउने, एकअर्कामा बोल्न सिकाउँछौं ।

० नयाँ विद्यार्थी थप्ने योजना छैन ?
– अभिभावकले नाम लेखाइरहेका छन् । अहिलेसम्म ४१ जनाको लिस्ट बनिसकेको छ । पोखरादेखिका अभिभावकले हामीसँग सम्पर्क राख्नुभएको छ । हाम्रो भवन बन्नलाई अझै चार–पाँच महिना लाग्छ । त्यसपछि उनीहरूलाई ल्याउँछौं ।

० सुस्तमनस्थिति बालबालिकाको अरु स्कुल रहेनछ ?
– मेरो जानकारीमा अहिलेसम्म आएको छैन, दृष्टिविहीनको स्कुल सुनेको छु, तर सुस्तमनस्थिति भएका बालबालिकाका लागि अर्को स्कुल छैनजस्तो लाग्छ ।

० बालबालिकाले तपाईंलाई के भन्छन् ?
– मलाई देखेपछि सबैजना रमाउँछन् । म छैन भने उनीहरूलाई खल्लो लाग्दो रहेछ । केही समय म बाहिर गएका बेला उनीहरूलाई न्यास्रो लाग्ने गरेको पाएँ । म आएपछि उनीहरू खुसी छन् । आइना दिदी भनेर बोलाउँछन्, मेहनत गरेअनुसार फल पाउँदा मलाई पनि खुसी लाग्छ, म पनि दंग हुन्छु ।

० उनीहरूलाई के बनाउनु हुन्छ ?
– मानसिक र शारीरिक रूपमा अपांगता भएकालाई उपचार गरेर समाजमा पुनस्र्थापना गर्न सकिन्छ भन्ने मेरो सोचाइ हो । त्यसैले शिक्षादीक्षासँगै व्यावसायिक शिक्षा दिइरहेका छौं, ताकि उनीहरू आत्मनिर्भर बनून्, समाजका लागि बोझ नबनून् ।

० थेरापी केका लागि ?
– कुँजो भएर जन्मेकालाई थेरापीको माध्यमबाट हामीले हिँड्न सक्ने बनाएका छौं । थेरापीले धेरै राम्रो भइरहेको छ । थेरापीसँगै अभ्यास पनि गराउनुपर्छ । गत महिना लामो बिदा भयो । बिदाका बेला उनीहरूले घरमा अभ्यास नगर्दा समस्या पुनः त्यही लिएर कतिपय बालबालिका स्कुल आएका थिए ।

० कसरी सञ्चालन भइरहेको छ ?
– स्पेनमा फेमेली डि हेटांैडा नामको एउटा गैरसरकारी दर्ता गराएको छु । यहाँ पनि गैरसरकारी संस्था दर्ता गरेको छु । यहाँ भाइबहिनीले बनाएको माला बेच्ने, मेरो परिवार तथा अन्य साथीभाइले दिएको सहयोगले अहिलेसम्म सञ्चालन भइरहेको छ ।

० यहाँको सरकारले कुनै सहयोग गरेन ?
– अहिलेसम्म सहयोग पाएका छैनौं, जिल्ला शिक्षा तथा नगरपालिकामा सहयोगको हात फैलायौं, तर अहिलेसम्म त्यस्तो कुनै सहयोग प्राप्त गरेका छैनौं ।

० अभिभावकबाट कस्तो प्रतिक्रिया आउँछ ?
– उहाँहरू खुसी हुनुहुन्छ । बच्चामा आएको सुधारले म पनि सन्तुष्ट छु । यही सन्तुष्टिले मलाई अझ राम्रो गर्ने पे्ररणा दिएको छ ।