६ चैत्र २०८०, मंगलवार
Follow Us

खेतखेतमा भ्यागुतोलाई भात

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७७, सोमबार १३:१६

कोभिड–१९ को सङ्क्रमणको बीचमा पनि आज यहाँका विभिन्न कुण्ड एवं पोखरीमा मेला लागेको छ । नेपालको दोस्रो गोसाइँकुण्डका रूपमा मानिने नगरकोटस्थित महादेवपोखरी कुण्डमा आज बिहानदेखि मेला लागेको हो ।

रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजनले महादेव पोखरी मन्दिरमा पुगेर कुण्डमा नुहाएर महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने मान्यता रहँदै आएको छ । हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका मानिस आउने गरे पनि यस वर्ष भने कोरोनाका कारण मेला भर्न आउनेको भीड नभएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो परम्परा छ । कुण्डमा विभिन्न जातजातिका मानिसले आ–आफ्नो परम्पराअनुसार पूजाअर्चना गर्ने, झाँकीलगायत विभिन्न नाच प्रस्तुत गरेर मेला भर्ने गरेका छन् ।

त्यसैगरी जनैपूर्णिमाका दिन आज भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदह अर्थात् महादेवपोखरीमा बिहानदेखि ठूलो मेला लागेको छ । यस दिन कालदहमा आई स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । यहाँ स्नान गर्दा शरीरमा भएको रोग नाश हुने जनविश्वास रहेको छ । कालदहको स्नान र पूजाअर्चनापछि भक्तजन रक्षाबन्धन बाँध्ने गर्छन् ।