१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए वक्तृत्वकला प्रतियोगितामा २७ देशका ५८ जनाले प्रतिस्पर्धा गर्दै


२० श्रावण २०७७, मंगलवार ११:५४

लन्डन । गैरआवासीय नेपाली संघको आयोजनामा हुने एक अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा बेलायतको तर्फबाट टिया आचार्यले प्रतिस्पर्धा गर्ने भएकी छन् । २७ देशका ५८ जना सहभागी हुने सो प्रतिस्पर्धामा बेलायतबाट सहभागी हुने ९ वर्षिया आचार्य सबैभन्दा कान्छी प्रतियोगी हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिक क्षेत्रको युथ फोरमले आउँदो आइतबार आयोजना गर्ने विश्वव्यापी वक्तृत्वकला प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको आयोजकले बताएको छ ।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारशमणी पोखरेलका अनुसार १९ वर्ष मुनिका २७ देशबाट ५८ जना प्रतियोगीले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।

‘माई ड्रिम फर नेशन’ ९मेरो देशको लागि सपना० शीर्षकमा आयोजना हुने सो प्रतियोगितमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुने प्रतियोगीले ३० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितमा १३ वर्षभन्दा तलको प्रतियोगीका लागि लिटिल मास्टरको टाइटल र एनआरएन राइजिङ स्टारले सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, अमेरिका, युएई र युकेका प्रतियोगी सहभागी हुने भएका छन् ।

विदेशमा हुर्किदै गरेको नयाँ पुस्तालाई एनआरएनए अभियानमार्फत् नेपालसँग जोड्न कार्यक्रम फलदायी हुने उपसंयोजक पोखरेलको विश्वास छ ।

प्रतियोगितमा सञ्चारकर्मी समा थापा, हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र सदीक्षा श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेल निर्णयक मण्डलमा छन् ।

यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछानेलाई समेत विषेश अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रको युथ फोरमका संयोजक दिपक कंडेलले प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

आउँदो आइतवार नेपाली समय अनुसार दिउँसो ३ बजेबाट सुरु हुने प्रतियोगितामा सहभागीलाई रिहर्सल भने शनिवार नै गराउने तयारी आयोजकको छ ।

प्रतियोगिता सफलताका लागि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्तले शुभकामना सन्देश पठाएका छन् ।