१४ बैशाख २०८१, शुक्रबार
Follow Us

युरोपस्तरीय एनआरएनए विज्ञ सम्मेलन सेप्टेम्बर अन्तिम साता

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७७, बुधबार ०५:२४

लन्डन । गैरआवासीय नेपाली संघको १३ औं युरोपेली क्षेत्रीय बैठक तथा पहिलो विज्ञ सम्मेलन सेप्टेम्वरको अन्तिम साता हुने भएको छ । गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार संघको गत सोमवार सम्पन्न युरोप क्षेत्रीय पदाधिकारीहरुको बैठकले १३ औं बैठक तथा युरोपस्तरीय पहिलो विज्ञ सम्मेलन आगामी सेप्टेम्वरको २६ र २७ तारिख आयोजना गर्ने निर्णय गरेको हो ।

दुई दिने क्षेत्रीय सम्मेलनमा कोभिड–१९ ले पारेको विश्वव्यापी प्रभाव र नेपालको समृद्धिका लागि विदेशमा रहेका नेपाली विज्ञहरुको भूमिका विषयमा छलफल हुने आयोजकले जनाएको छ । युरोप क्षेत्रमा रहेका विभिन्न विज्ञहरुको सहभागी रहने सो सम्मेलनको लागि संयोजक नारायण आचार्यको संयोजकत्वमा एक मूल आयोजक समिति गठन गरिएको संघको युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सिनाले जानकारी दिए ।

मूल समितिको सदस्यमा युरोपस्थित २८ देशका राष्ट्रिय समितिका अध्यक्ष तथा यो क्षेत्रबाट प्रतिनिधत्व गर्ने सबै आइसीसी सदस्यहरु रहेका छन् ।
विज्ञ सम्मेलनमा विदेशमा सिकेको सीप, बौद्धिकता, पुँजी तथा सञ्जालको नेपालको हितमा उपयोग गर्ने उद्देश्यले युरोपमा रहेर विभिन्न क्षेत्रमा कार्यरत नेपाली विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।
सो विज्ञ सम्मेलनलाई सफल पार्न राजु अर्याल (नर्वे) को संयोजत्वमा एक उपसमिति समेत गठन गरिएको छ । सो समितिको लागि डा. सुनिल शाह (युके) डा. वोध सुवेदी (पोल्याण्ड) डा. चिरञ्जीबी खड्का (चेक रिपव्लिका) र डा. बसन्त गौतम (फिनल्याण्ड) को नाम प्रस्ताव गरिएको छ ।

सो सम्मेलनको सल्लाहकारमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, शेष घले, भवन भट्ट, देवमान हिराचन, संस्थापक नेता रामप्रताप थापा रहेका छन् यस्तै अन्य सल्लाहकारमा विश्वआर्दश पण्डित (युके) कुल आचार्य (युके), पुष्प तिमल्सिना (स्पेन),  सपिला राजभण्डारी (रसिया) र सोम सापकोटा रहेका छन् ।

सम्मेलनलाई नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ लगायत संघका पूर्वअध्यक्षहरुले सम्वोधन गर्ने भएका छन् ।

यसअघि संघको १२ औं युरोप क्षेत्रीय सम्मेलन इटालीको रोममा सम्पन्न भएको थियो । १३ औं सम्मेलन आयरल्याण्डमा आयोजना गर्ने तय भए पनि कोभिड–१९ (कोरोना भाइरस) का कारणले भर्चुवल सम्मेलन हुन लागेको हो ।

सम्मेलन संघका युरोप क्षेत्रमा रहेका राष्ट्रिय समितिहरुले आ–आफ्नो नीति तथा प्रगति प्रतिवेदनसमेत पेश गर्ने प्रचलन रहेको छ ।