१६ चैत्र २०८०, शुक्रबार
Follow Us

३२ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०७७, बुधबार ०७:१२

काठमाडौं । भारतमा ६ महिनाभन्दा बढी समय रोजगारी गर्ने नेपालीसहित विश्वभर वैदेशिक रोजगारीमा ३२ लाख १० हजार ८ सय ४८ जना नेपाली नागरिक रहेको सरकारी तथ्यांकले देखाएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीको यकिन तथ्यांक सरकारसँग थिएन ।

विश्वभर १ सय १३ वटा मुलुकमा सरकारी निकायमार्फत गरिएको औपचारिक सर्वेक्षणबाट यो तथ्यांक प्राप्त भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । अहिले राष्ट्रिय योजना आयोगले कोरोनापछि वैदेशिकसहित समग्र रोजगारीमा परेको प्रभाव र अर्कोतर्फ कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे दुई छुट्टाछुट्टै अध्ययन गरिरहेको छ । यी अध्ययनको काम अब प्रतिवेदन लेखनको क्रममा रहेको बताइएको छ । ‘वैदेशिक रोजगारी र स्वदेशमा रोजगारी सिर्जनाका अवसरबारे गरिएको प्रतिवेदन तयार भइसकेको छ, अर्थतन्त्रमा परेको प्रभावसम्बन्धी प्रतिवेदन भने अन्तिम चरणमा छ,’ आयोगका सदस्य डा. रामकुमार फुयाँलले भने । आयोगले यो प्रतिवेदन सीसीएमसीमा बुझाउनेछ ।

विकास समस्या समाधान समितिको बैठकमा समेत यी दुवै प्रतिवेदन पेश हुनेछन् । आयोगले यो प्रतिवेदन बुझाएसँगै अब वैदेशिक रोजगारीमा रहने नेपालीबारे आधिकारिक तथ्यांक प्राप्त हुनेछ ।

रोजगारीका सिलसिलामा न्यूनतम ६ महिना पनि भारतमा नबस्ने नागरिकलाई भने वैदेशिक रोजगारीका रुपमा गणना गर्न तथ्यांक नपुगेको बताइएको छ ।

भारतमा औपचारिक माध्यमबाट गएका र ६ महिनाभन्दा बढी समय रोजगारी गरेका नेपाली नागरिकलाई यो संख्यामा गणना गरिएको छ । उनीहरुसमेत जोड्दा वैदेशिक रोजगारीमा ३२ लाख संख्या भेटिएको हो ।

योजना आयोगले गरेको अध्ययनअनुसार वैदेशिक रोजगारीबाट तत्काल ३ लाख नागरिक फर्कने देखिएको छ । तर, एक वर्षभरमा भने ६ लाखसम्म नेपाली घर फर्कने देखिएको छ ।

यसरी फर्कनेहरुमा ७० प्रतिशत नेपाली जागिरको सिलसिलामा पुगेका हुन् । ३० प्रतिशत भने अध्ययन तथा अन्य प्रयोजनमा गएका नेपालीले फर्कने चाहना देखाएका छन् ।

आयोगका अनुसार कामदार आफ्नै कारणले जागिर छाड्ने, कम्पनी बन्द भएर फर्कने संख्या सोचेजतस्तो धेरै नदेखिएको आयोगको निष्कर्ष छ ।