८ बैशाख २०८१, शनिबार
Follow Us

सुन १ लाख ३० हजारसम्म पुग्ने अनुमान

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७७, बुधबार २०:५७

काठमाडौं । लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। नयाँ रेकर्ड कायम गर्दै आज सुनको भाउ प्रति तोला १ लाख १ हजार ४ सय पुगेको हो।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुनमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्य वृद्धि भएको बताए।

लगानीकर्ताहरुले सुनलाई सुरक्षित क्षेत्रको रुपमा अंगाल्दै लगानी बढाएको उनले बताए। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर परिरहेको व्यवसायीको भनाइ छ।

महासचिव बज्राचार्यका अनुसार केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा २३ सय देखि २५ सय डलरसम्म सुनको मूल्य पुग्ने आँकलन विज्ञहरुले गरेका छन्।

गतवर्ष साउन २१ गते सुन तोलाको ६८ हजार रुपैयाँमा कारोबार भएको थियो। आज सुन एक वर्षपछि तोलामा ३३ हजार ४ सयले बढेको हो।

सुनको मूल्य अत्याधिक बढेपछि किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायीहरुको भनाई छ। बुधबार विश्व बजारमा प्रति आउन्स २ हजार ५५ डलरमा सुनको कारोबार भइरहेको छ।