१२ बैशाख २०८१, बुधबार
Follow Us

अमेरिका हुने विज्ञ सम्मेलनमा २३ देशमा बैज्ञानिक सहभागी हुने

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७७, बुधबार २१:०२

वासिंगटन । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्यय समिति अन्तर्गतको अमेरिकाज् क्षेत्रीय समितिले विज्ञ र बैज्ञानिक भेलाका लागि यो क्षेत्रमा बसोवास गर्ने नेपाली र नेपाली मूलका विद्वानहरुसंग कार्यपत्रका लागि प्रस्ताव आह्वान गरेको छ ।
एनआरएन आईसी अमेरिकाज् क्षेत्रीय कमिटीले गठन गरेको विज्ञ समितिको सोमबार सम्पन्न बैठकले अमेरिका, क्यानडा, मेक्सिकोसहित अमेरिकाज् क्षेत्रमा पर्ने २३ देशहरुमा बसोवास गर्ने नेपाली विद्वानहरुसंग विषयगत विशेषज्ञताको क्षेत्रसंग सम्बन्धित कार्यपत्रका लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरेको छ ।

एनआरएनए आईसीसीका अमेरिकाज् क्षेत्रका संयोजक राजन त्रिपाठीको संयोजकत्वमा मूल आयोजक समिति र सो समिति अन्तर्गत डा.लक्ष्मी पाठकको नेतृत्वमा डा.आमोद पोख्रेल र खाद्य बैज्ञानिक नारायण घिमिरे रहेको विज्ञ समिति गठन भएको थियो । सोमबारको विज्ञ समितिसहित थिंक ट्यांक ग्रुपको बैठकले सेप्टेम्बर ५ र ६ तारिकमा तय भएको विज्ञ भेलाका लागि कार्यपत्र बुझाउने अन्तिम मिति अगष्ट २० सम्मलाई तोक्ने निर्णय पनि गरेको छ ।

बैठकले तीनवटा सेसनमा विज्ञहरुका कार्यपत्रबारे छलफल हुने र एउटा सेसनमा ४ वटा कार्यपत्र समावेश गर्ने निर्णय पनि गरेको छ । र, हरेक सेसनका लागि तय भएका विषयमा छलफलको संयोजकहरु पनि तोक्ने निर्णय गरेको छ । जसअनुसार, कोभिड १९ र यसले अर्थतन्त्रमा पार्ने असर शीर्षकको लागि एटर्नी डिल्ली भट्ट अमेरिका, पब्लिक हेल्थ एण्ड मेडिसिनमा डा.श्याम थापा अमेरिका, नलेज एण्ड स्कील इन नर्सिंग प्राक्टिसमा नर्स पार्वती पाण्डे क्यानडालाई संयोजक तोकिएको छ । त्यसैगरी इन्जिनियरिंग, पूर्वाधार विकास र सार्वजानिक सुरक्षामा इन्जिनियर केदार श्रेष्ठ, वातावरण, विज्ञान तथा प्रविधिमा वातावरण पत्रकार सहजमान श्रेष्ठ अमेरिका, शिक्षा, सामाजिक सुदृढीकरण र न्यायिक विकासमा डा.हरि गुरुङ्ग क्यानडा, कृषि, वन तथा एलाइड सेक्टरमा डा.कृष्णहरि गौतम क्यानडा, इनोभेसन, उद्यमशीलता र टेक्नोलोजी शेयरिंगमा डा.मनोज कार्की, अमेरिकाले सेसनको संयोजन तथा अध्यक्षता गर्ने तय भएको छ ।

जुम प्रविधिबाट हुने यो कार्यक्रमका मूल आयोजक समितिका संयोजक राजन त्रिपाठीका अनुसार, विज्ञ भेलाका सन्दर्भमा आउने कार्यपत्रहरुमध्ये भेलाका सत्रमा प्रस्तुतिका लागि र नेपाल सरकार र नेपालको योजना आयोगमा प्रस्तुत गर्न तयारी गर्न लागिएको कन्फरेन्स डिक्लिरेसन र ह्वाइट पेपरमा संलग्न गर्नका लागि छनौटमा परेको हो भन्नेबारे अगष्ट २५ तारिकसम्म जानकारी गराइसकिने छ ।