७ बैशाख २०८१, शुक्रबार
Follow Us

राम मन्दिर शिलान्यास: जनकपुरमा दिपावली, पाकिस्तानमा विरोध

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७७, बिहीबार ०३:५९

काठमाडौं । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गरेपछि विरोध र समर्थनका आवाजहरु उठ्न थालेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा निर्माण गर्न लागेको भगवान रामको मन्दिरको प्रधानमन्त्री मोदीले बुधबार भूमि पूजा गरी जगको ढुंगो राख्नुभएको हो ।

शिलन्यास कार्यक्रममा मोदीले भगवान रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको स्मरण पनि गर्नुभएको छ । केही समयअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मेको अयोध्या नेपालमा पर्ने अभिव्यक्ति दिएपछि अयोध्याको विषयमा नेपालमा पनि चासो र चर्चा बढेको थियो ।

भारतीय राजनीतिमा दशकौंदेखि प्रमुख मुद्दा रहँदै आएको अयोध्यामा राममन्दिर निर्माणको सुरुवातपछि पक्ष र विपक्षमा वहस फेरि सुरु भएको छ । १९९२ मा अयोध्यामा रहेको बाबरी मस्जिद भत्काइएको थियो । जसका कारण यहाँ लामो समयसम्म धार्मिक विवाद बढेको थियो ।

हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो। भारतीय सर्वोच्चले फैसला गर्दै सो स्थानमा राम मन्दिर निर्माण गर्न भनेको थियो।

जनकपुरमा दिपावली
भारतमा राम मन्दिरको शिलान्यास भएसंगै जनकपुरधाममा भब्य खुशीयाली मनाइएको छ । त्यहाँ भव्यरुपमा दिप प्रज्वलन गरिएको छ ।
भूमि पुजनको खुशियालीमा जनकपुरधाममा रामधुन बजाउँदै भजन किर्तन गरिएको छ । साँझ घर आँगन, सडक पेटी लगायतका क्षेत्रमा रंगोली बनाएर दिप प्रज्वलन गरिएको थियो । ।

जानकी युवा क्लबले भव्यरुपमा जानकी चोकमा दिप प्रज्वलनसहित रंगोली बनाएर उत्सव मनाएका छन् ।

राम मन्दिरको भूमि पुजनमा सरिक हुन जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णव मंगलबार साँझ भारतको अयोध्या गएका थिए ।

लामो समयदेखि विवादमा रहेको राम मन्दिर निर्माण सम्बन्धमा भारतको सर्वोच्च अदालतले मन्दिरको पक्षमा निर्णय सुनाएपछि जनकपुरधाममा विहान भजन किर्तन र साँझमा दिप प्रज्वलनसहित रंगोली बनाइएको हो ।

पाकिस्तानको आपत्ति
भारत अयोध्यामा राम मन्दिर निर्माणका लागि शिल्यन्यास भएपछि पाकिस्तानले कडा आपत्ति जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयले स्टेटमेन्ट जारी गर्दै पाँच सय वर्षदेखि बाबरी मस्जिद रहेको स्थानमा रामको मन्दिर निर्माण गरिनु भारतीय लोकतन्त्रमा एक दाग भनेको छ।

उसले भारतमा धार्मिक अलपसंख्यकमाथि खास मुस्लिममाथि अत्याचार भएको प्रतिक्रिया दिएको छ । भारतमा मुस्लिम समूदायका मस्जिदहरुमा भाजपा नेतृत्वको सरकारले हानी नोक्सानी गरेकोसमेत आरोप लगाएको छ।

पाकिस्तानले भारतीय सर्वोच्च अदालतले मस्जिद रहेको स्थानमा मन्दिर बनाउन दिएको आदेशले भारत धर्म निरपेक्ष नरहेको जनाएको छ ।