१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अख्तियारका २० कर्मचारी र प्रचण्डका सुरक्षार्थ खटिएका ६ जनामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७७, बिहीबार ०८:२८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारी र नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दाहालसँगै फ्रन्टलाइनमा काम गर्ने कसैलाई पनि कोरोना नदेखिएपनि सुरक्षामा खटिएका अन्य छ जनामा संक्रमण पुष्टि भएको हो । दाहालका परिवार, सचिवालय र सुरक्षाकर्मीको बुधबार स्वाब परीक्षण गरिएको थियो । सो क्रममा बाँकी सबैको भने रिपोर्ट नेगेटिभ आएको छ ।

यता आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए ।

यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् । यसैगरी गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको पौडेलले बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो ।