७ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रीमतीको खातामा २५ लाख रुपैयाँ जम्मा गर्ने लेखापाल राति ९ बजे कार्यालयबाटै पक्राउ

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७७, शुक्रबार ०३:२३

रुकुम पश्चिम । श्रीमती र भतिजोको खातामा अनधिकृतरुपमा लाखौँ सरकारी रुपैयाँ जम्मा गर्ने गाउँपालिका लेखापाल पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित स्थायी शिक्षक समेत रहेका उनका भाइ विकास केसी, भतिज भिमशेन केसी र सोही पालिकामा करारमा सह-लेखापाल समेत रहेका भतिज सुवास केसी लगायत ४ जनालाई राति गाउँपालिको कार्यालयबाट पक्राउ गरिएको हो ।

लेखापालसहित ४ जनालाई पक्राउ गरिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले पुष्टि गरे । यद्यपि के कारण कुन अवस्थामा पक्राउ परे भन्नेबारे उनले केही बोल्न चाहेनन् । तर आफूविरुद्धका सबै प्रमाण नष्ट गर्नकै लागि उनीहरु राति नौँ बजे कार्यालयमा गएको स्रोतले बताएको छ ।

राति करिब ९ बजेको समयमा कार्यालयमा आएर कागजात नष्ट गर्ने क्रममा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि सईको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो । आर्थिक वर्ष २०७६–०७७ मा लेखापाल केसीले विभिन्न शीर्षकको सरकारी रकम आफू, श्रीमती र त्रिवेणीमै लेखा सहयोगीको काम गर्ने भतिजा सुवासको नाममा जम्मा गरेको खुलेको थियो । उनले श्रीमती विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५ लाख रुपैयाँ जम्मा गरेको खुलेको थियो ।

केसीले ८ लाख आफ्नो नाममा र विर्माको नाममा फरक फरक मितिमा ८ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको पाइएको थियो भने लेखा सहयोगीको रूपमा कार्यरत भतिजा सुवासको खातामा तलब शीर्षकमा ७ लाख ९१ हजार रकम जम्मा गरेका भेटिएको थियो । आर्थिक वर्ष २०७६–०७७ मा कार्यान्वयन भएका योजनामा बजेट अपुग भएको गुनासो बढेपछि गाउँपालिकाले आवश्यक अनुसन्धान गरेको थियो ।

सो क्रममा लेखापाल केसी उनकी श्रीमती विर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता भईसकेको छ । तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता भएको हो ।