१६ चैत्र २०८०, शुक्रबार
Follow Us

उपत्यकामा संक्रमित संख्या बढेपछि अस्पतालमा शैय्यको अभाव

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७७, शुक्रबार १३:२०

काठमाडौ । उपत्यकामा दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या बढेपछि कोरोन भाइरस संक्रमितको उपचारका लागि तोकिएका अस्पतालमा चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने संख्या बढेको हो ।

उपत्यकामा शुक्रबारसम्म अस्पतालमा क्षमताभन्दा बढी संक्रमित आउन थालेपछि बिरामी राख्ने शैय्यको समेत अभाव हुन थालेको छ । देशैभरका विभिन्न अस्पतालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट जटिल अवस्थामा पुगेका ६६ संक्रमितलाई आईसीयूमा उपचार भइरहेको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अस्पतालमा क्षमताभन्दा बढी सङ्क्रमित आउन थालेपछि बिरामी राख्ने शय्याको समेत अभाव हुन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५० शय्यामध्ये ४९ श्ययामा बिरामी राखेर उपचार भइरहेको छ । यस्तै पाटन अस्पतालमा ६० शय्या भरिएर थप १२ शय्या पनि सङ्क्रमितलाई राखेर उपचार भैरहेको छ । यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५० शैयया मध्ये एउटा मात्र खाली रहेको छ ।

अस्पतालमा सघन उपचार कक्षका २० वटामध्ये १५ वटामा सङ्क्रमितको उपचार भइरहेको छ । वीर अस्पतालमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अहिले नौ जना आइसोलेसनमा छन । शुक्रबार मात्रै उपत्यकामा १ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै ठुलो संख्या हो । अहिलेसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।