१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७७, शुक्रबार १५:४९

क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।

सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बस्नुभएको छ । उहाँलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दिपको पनि परीक्षण गरिएको हो । सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताउनुभयो । सिपिएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुग्नुभएको हो । नेपालबाट टोबागो जानुअघि पनि उहाँले पिसिआर परीक्षण गराउनुभएको थियो । त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो ।

सन्दिपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । उहाँले तेस्रोपटक सिपिएल खेल्दै हुनुहुन्छ । यसअघि उहाँले सन् २०१८ र सन् २०१९ मा सिपिएल खेल्नुभएको थियो । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।