१३ बैशाख २०८१, बिहीबार
Follow Us

खेलाडीहरुको कोरोना परीक्षण

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०७७, सोमबार ०८:५४

काठमाडौं । विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागि हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो ।

खेलाडीहरुसँगै पहिलो दिन १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफको परि २५ जनाको परीक्षण गरिएको हो । पहिलो दिन ललितपुरको पाटन अस्पतालमा फिजियो आविश्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परिक्षण गरिएको छ ।

त्यस्तै विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्काी, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको कोरोना परीक्षण गरिएको छ । बाँकी खेलाडी र अफिसियलको पिसिआर मंगलबार गरिने बताइएको छ ।

सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोट अन्तर्गत नेपालले तीन होम खेल दशरथ रंगशालामा खेल्दै छ ।

तीन खेल मध्ये नेपालले असोज २२ गते चाईनिज ताईपेसँग र त्यसको ५ दिनपछि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ मा रहेको नेपालले छनोट अन्तिम खेलमा नेपालले कात्र्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका रहेको छ ।