१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हङकङमा प्रजातन्त्रवादी प्रकाशक मुगल जिमी पक्राउ

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०७७, सोमबार ०९:१५

हङ्कङ । विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक मुगल जिमीलाई पक्राउ परेका छन् । चीनले बलपूर्वक कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पत्रिकाको भवनमा खानतलासी समेत गरेको छ । प्रहरीले सोमवार सात व्यक्तिमाथि राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आशंकामा पक्राउ गरेको छ । उनीहरुको पहिचान खुलाइएको छैन । सोमवार भएको कारबाही नयाँ कानुन अन्तर्गत गरिएको तेस्रो चरणको पक्राउ भएको बताइएको छ ।

अहिलेसम्म पक्राउ पर्नेमध्ये जिमी सबैभन्दा ठूला र विदेशी नागरिकता वाहक पहिलो व्यक्ति हुन् । पक्राउ परेका जिमी गत वर्ष हङ्कङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली पत्रिकाका प्रकाशक हुन । उनीसँग बेलायतको पनि नागरिकता रहेको छ ।

गत फेब्रुअरीमा पनि पनि ७१ बर्षिय जिमीलाई अवैधानिक रूपमा भेला भएको र बलजफ्ती गरेको आरोपमा पक्राउ गरेर धरौटीमा रिहा गरिएको थियो ।

जिमीलाई एक अर्ब डलर मूल्याङ्कन गरिएको सम्पत्तिका मालिक समेत हुन । कपडा उद्योग हुँदै उनले सञ्चार क्षेत्रमा हात हालेका थिए । उनको पत्रिकाले हङ्कङ र चिनियाँ नेतृत्वको बारम्बार आलोचना गर्दै आएको छ ।