१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दूतावासको सकृयतामा युके – नेपाल व्यापार तथा लगानी मञ्च गठन


२६ श्रावण २०७७, सोमबार १८:५५

लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको ५ र १० अगस्टमा लण्डनमा बसेको बैठकले संयुक्त अधिराज्यको हाउस अफ लडर्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा युके-नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । फोरमको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्र जंग लामिछाने रहनुभएको छ भने महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहनुभएको छ । फोरमको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी हुनुहुन्छ ।

सो फोरमको उद्घाटन सभामा बोल्नुहुँदै राजदूत डा.सुवेदीले आर्थिक विकासको लागि नेपाल सरकारले लगानी मैत्री नीति कार्यान्वयन गरिरहेको र नवगठित युके-नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवर्धनमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै मञ्चका नवनिर्वाचित अध्यक्ष लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन प्रतिवद्ध रहने बताउनु भयो ।

लर्ड शेखले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको भन्नुहुँदै नवगठित मञ्चद्धारा नेपालका व्यवसायीहरुको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीहरुसँग गराउँदै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानी सम्बन्धी नीति तथा कार्यक्रमहरु बेलायतका व्यवसायी र लगानीकर्तासम्म पुर्याउने कार्यमा यो मञ्च प्रयत्नशील रहने प्रष्ट गर्नुभयो । मञ्चले सेप्टेम्बरको तेश्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम गर्ने जनाएको छ ।