१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यूके पठाउने भन्दै यूएईमा लगेर रामधुलाई


२६ श्रावण २०७७, सोमबार २२:०५

 काठमाडौँ। रोजगारीको लागि बेलायत पठाइदिन्छु भन्दै मानव तस्करहरुले भिजिट भिसामा यूएई पुर्याएर नेपालीहरुलाई अलपत्र पार्ने गरेको खुलासा भएको छ। रोचक कुरा त के छ भने तस्करहरुको जालोमा एनआरएनए दुबई क्षेत्रका अध्यक्ष नै संग्लन रहेको पीडतहरुले आरोप लगाएका छन्। बेलायत पठाइदिन्छु भनेर यूएई लगेर अलपत्र पारिएका दुई युवालाई ‘दलाल’ले उल्टै गुण्डा लगाइ मरणसन्न हुनेगरी कुटपिट गरेपछि यो विषयको खुलासा भएको हो।

दलालले घात गरेपछि रामेछापका टिकाराम बोहोरा, मनोहर केसीसहित ६३ जना नेपालीहरुको यूके जाने सपना तुहिएको छ। काठमाडौंमा रहेको तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारी र दुबई बस्ने श्याम थापाले आफूहरुबाट प्रतिव्यक्ति ९ लाख लिएको पीडित मनोहर केसीले डिसी नेपालसँग बताए। ‘हामीले २०७६ सालको पुस महिनामा तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेजकी पीआरो सिर्जना अधिकारीलाई प्रतिव्यक्ति ९ लाख तिरेका थियौँ, रोजगारीको लागि बेलायत पठाइदिने शर्तमा। त्यसको हामीसँग प्रमाण पनि छ,’ केसीले भने।

यूके पठाउने सर्तमा तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारीलाई रकम बुझाइएको कागज

केसीका अनुसार उनीहरुलाई सुरुमा बेलायतमा रोजगारी गर्न १ महिनाको तालिम लिनुपर्र्ने बताइएको थियो। जुन तालिम दुबईमा लिनुपर्ने भन्दै भिजिट भिसा लगाएर त्यहाँ पुर्याइयो। पछि कोरोना महामारीले गर्दा बेलायत पठाउन नसकिने भन्दै यूएईमा रहेका नेपाली ‘दलाल’ श्याम थापाले उनीहरुलाई दुबईमै राम्रो काम मिलाइदिने आश्वासन देखाए ।

पीडितलाई यूएईमा दिएको अफर लेटर र सेलरी एग्रिमेन्ट

थापाले मासिक ७ हजार ५ सय दिराम भएको जब अफर लेटर र इम्प्लोएमेन्ट भिसा पनि दिए। तर, अफर लेटर र इम्प्लोएमेन्ट भिसा नै नक्कली भएको खुल्यो। त्यस्तै थापाको कम्पनी एचएसडी इन्टरनेश्नल सेक्युरिटी सर्भिस एलएलसी, आफैले खोलेको डमी भएको तथ्य समेत खुल्यो । यसको खुलासा भएसँगै आफूहरुको पासपोर्ट जफत गरेर थापा सम्पर्कबिहीन भएको पीडितहरुको आरोप छ।

‘कोरोनाका कारणले तत्काल यूके पठाउन नसकिने भन्दै हामीलाई यहाँ रहेको दलाल श्याम थापाले यूएईमै आकर्षक जागीर लगाइदिने लोभ देखाए,’ उनले डिसीनेपालसँग भने, ‘पछि बुझ्दै जाँदा थाहा भयो, हामीहरु ठगिएका रहेछौँ ।’ सुरुवातमा आश्वासन बमोजीमको २५ प्रतिशत तलब पनि आफूहरुले पाएको केसी बताए। उनका अनुसार थापाले सबैजनाको राहदानी आफूसँग राखेका थिए ।

आबुधावीस्थित नेपाली दूतावासमा पीडितको उजुरी

आफूहरु ठगिएको यकिन हुँदासाथ उनीहरुले एनआरएन–यूएई र आबुधाबीस्थित नेपाली दूतावासमा सहयोग र उद्धारका लागि निवेदन दिएका थिए। दूतावासमा उजुरी गरेको थाहा पाएपछि गत शुक्रबार बेलुकी श्याम थापाले एनआरएनए दुबई क्षेत्रका क्षेत्रीय अध्यक्ष भीम मल्लको उपस्थितिमा केही अपरिचित गुण्डाहरु बोलाएर आफूहरुलाई मरणासन्न हुनेगरी कुटपिट गरेको केसीले बताएका छन्। कुटपिटमा टिकाराम बोहोरा मरणासन्न हुनेगरी पिटिएका छन्।

एनआरएनए एनसीसी यूएईमा पीडितको उजुरी

जफत भएको राहदानी फिर्ता गरिदिने भन्दै बरदुबईमा बोलाएर आफूहरुलाई थापा समूहका १० जना जति गुण्डाहरुले कुटपटि गरेको उनीहरुको आरोप छ। आफूहरुले कुटाइ खाँदासँगै रहेका एनआरएनए दुबईका अध्यक्ष मल्ल चुपचाप बसिरहेकोले मल्ल्को नियतमाथि नै उनीहरुले प्रश्न उठाएका छन्। उनीहरुले मानव तस्करहरुको गिरोहसँग मल्लको मिलेमतो रहेको आरोप लगाएका छन्। घटनापछि स्थानीय प्रहरीलाई खवर नगर्न मल्लले दवावसमेत दिएको उनीहरुको भनाई छ। थापाले एनआरएनएको माथिल्लो निकायमा समेत आफ्नो पहुँच भएको भन्दै बारम्बार धम्की दिइरहने गरेको पनि केसीले बताए।

कुटिएका पीडितको मेडिकल रिपोर्ट

आफूहरुले मल्लको दवावलाई बेवस्ता गर्दे घटनास्थलमा प्रहरी बोलाएको केसीले बताए। प्रहरीलाई खवर गरेपछि कुटपिटमा संग्लन थापाको समूह घटनास्थलबाट भागेको उनले बताए। प्रहरीले कुट्ने समूहको खोजी शुरु गरेको छ।

के भन्छन् एनआरएनए दुबई अध्यक्ष मल्ल ?

केसी र बोहोराले अध्यक्ष भीम मल्लमाथी मानव तस्करसँग साठगाँठ रहेको बताइरहँदा उनले भने उक्त आरोपको खण्डन गरेका छन्। उनले उक्त दिन पीडितकै आग्रहमा एनआरएनए अध्यक्षको हैसियतमा न्याय दिलाउन घटनास्थलमा पुगेको बताए।

‘पीडितहरुकै आग्रहमा म त्यहाँ पुगेको थिएँ,’ उनले डिसीनेपालसँग भने, ‘पीडितलाई न्याय दिलाउनका लागि पुगेको मान्छेलाई उल्टै आरोप लगाउँदा अचम्म परेको छु। उनीहरु (गिरोहसँग) मेरो कुनै संग्लनता छैन्।’

उनले श्याम थापासँग यसभन्दाअघि कुनै चिनजान नरहेको, उक्त भेट पहिलो भएको समेत बताए। उनले त्यसदिन दुबै पक्षका कुराहरु आफूले सुनेको बताए। ‘म त्यस दिन दुबै पक्षका कुराहरु सुनिरहेको थिएँ। मेरो माग पीडितले न्याय पाउनु पर्छ भन्ने थियो,’ उनले भने, ‘पछि एक–अर्कामा भनाभन शुरु भएपछि कुटपटि भयो। म एक्लैले कुटपिट नियन्त्रण गर्नसक्कने कुरो भएन।’ उनले आफूले झैझगडा साम्य बनाउन प्रयास गर्दागदै कुटपिट शुरु भएको बताए।

भीम मल्ल– अध्यक्ष एनआरएनए दुबई क्षेत्रीय समिति

घटना भइसकेपछि पनि आफूले नेपाली–नेपालीको विवादलाई मिलाउनु पर्छ भन्ने सोँचले मिलाउने प्रयास गरेको उनको भनाई छ। ‘मैले मिल्नुपर्छ, नेपाली–नेपालीबीच झगडा गरेर हुँदैन भनेर प्रयास गरेकोँ थिएँ,’ उनले भने ‘उहाँहरुले (कुटिएका) प्रहरीलाई खवर गर्ने भन्दै हुनुहुन्थ्यो । मैले सकभर मिलौँ मात्रै भनेको थिएँ ।’ उनले आफूले प्रहरीलाई खवर नगरी मिलाउने प्रयास गरेकोले आफूमाथि मिलेमतोको आरोप लगाएको हुनसक्ने बताए।

प्रहरी घटनास्थलमा आउँदा समेत आफूउपाध्यक्ष निराजन खत्री त्यहाँ रहेको उनको भनाई छ। मल्लले थापालगायत उनीहरुको समूहलाई आफूले समेत खोजी गरिरहेको बताए।