१५ बैशाख २०८१, शनिबार
Follow Us

पर्सामा ९ प्रहरीसहित थप ७० जनामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७७, मंगलवार ०३:५३

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४९ जना पुरूष र २१ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा ३ वर्षकी बालिकादेखि ८६ वर्ष सम्मका रहेका छन् । शनिबार बेलुकी प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा नेशनल मेडिकल कलेजका ३० र ३१ बर्षका २ जना डाक्टर र एक जना २३ वर्षका पुरुष रहेका छन् । वडा प्रहरी कार्यालय विर्ताका ३ जना प्रहरी, वडा प्रहरी कार्यालय विर्ताकोको थुनुवा कक्षमा रहेका १ महिला सहित ५ जना थुनुवा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४१ बर्षीय १ जना पुरुष प्रहरी, कृषि सामाग्री वीरगन्जका ५५ बर्षिय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका ३ जना पुरुष र १ जना महिला कर्मचारी र नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३ जनामा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाकामा कार्यरत १ जना महिला कर्मचारीमा पनि संक्रमण देखिएको छ । संक्रमितमध्ये दश जना विर्ता, पाँच जना छपकैया र तीन जना माइस्थानका छन । धोबिनी, जगरनाथपुरमा केही मानिसमा पनि संक्रमण देखिएको छ । अन्य संक्रमित वीरगन्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्लीका बासिन्दा हुन् ।

संक्रमितमध्ये तीन जना बारा स्थायी घर भएका छन् । पर्सामा कोरोना संक्रमित हुनेको संख्या एक हजार एक सय नाघेको छ । साउनयता मात्रै पर्सामा अठार जना संक्रमितको मृत्यु भएको छ ।