१२ बैशाख २०८१, बुधबार
Follow Us

फिफा विश्वकप र एसियन कप छनोटका बाँकी खेल स्थगित

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७७, बुधबार ०९:३१

लन्डन । एसियाली फुटवल महासंघ एएफसीले फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु स्थगित गरेको छ । एएफसीले आज एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरस महामारीका कारण नेपाल सहितका मुलुकले प्रतिस्पर्धा गरिरहेका प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु स्थगित भएको जानकारी दिएको हो ।

विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित एएफसीले जनाएको छ । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउन यसअघि एएफसीले प्रस्ताव गरेको थियो ।

प्रतियोगिताको तयारीका लागि नेपालले भदौ एक गतेबाट बन्द प्रशिक्षण शुरु गर्न लागेको थियो । खेल स्थगित भएकाले प्रशिक्षण पनि अन्योलमा परेको छ ।विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ ।

नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो ।