१५ चैत्र २०८०, बिहीबार
Follow Us

त्रिवि शिक्षण अस्पतालका चिकित्सक र नर्समा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७७, बिहीबार ०३:३९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक उपचार सेवा बन्द भएको छ । आकस्मिक उपचार विभागका चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको हो ।

विभागका दुई डाक्टर र चार जना नर्समा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमितमा कोरोनो लक्षण समेत देखिएका अन्य स्वास्थ्यकर्मीलाई सर्न सक्ने भन्दै आकस्मिक विभाग सिल गरिएको अस्पतालले जनाएको छ ।

आकस्मिक विभागमा रहेका करीब एक सय कर्मचारीको आज पीसीआर परीक्षण गरिँदैछ । त्यसको रिपोर्ट नआउँदासम्म आकस्मिक विभाग बन्द रहेको अस्पतालले जनाएको छ । बहिरंग लगायतको सेवा भने सुचारु रहेको अस्पतालले जनाएको छ । अहिलेसम्म शिक्षण अस्पतालमा कार्यरत १८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले पहिलो घेरामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अनिवार्य पीसीआर परीक्षण गराएर कामकाजमा लगाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

संक्रमण बढेसँगै स्वास्थ्यकर्मी संक्रमित हुनबाट जोगाउन र स्वास्थ्यकर्मीबाट सर्वसाधारण संक्रमण हुनबाट जोगाउन सबै स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गराइ काममा खटाउन अस्पतालहरुलाई अनुरोध गरेको हो ।