१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यूएईको शारजाह शहरमा दुई नेपाली हत्या

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७७, बिहीबार ०५:११

लन्डन। यूएईमा दुई नेपाली युवाको निर्मम हत्या भएको छ । यूएईको शारजाह शहरमा ती दुई नेपालीको शव हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । झगडा र विवाद हिंस्रक भएपछि उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको गल्फ न्यूजले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ ।

झगडा हिंस्रक भएर उनीहरुमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिए पनि प्रहरीले नियतवश योजनाबद्ध हत्या भएको हुनसक्ने कुरालाई समेत अस्वीकार गरिसकेको छैन । प्रहरीले मृतकहरुको पूरा पहिचान खुलाएको छैन । प्रहरीले उनीहरुको संक्षिप्त नाममात्र सार्वजनिक गरेको छ जसमा मृतकहरु २६ वर्षका के.जे. र ३७ वर्षका एम.आर. दुवै नेपाली नागरिक भएको जनाइएको छ ।

उनीहरुको शव शारकान आवासीय क्षेत्रमा फेला परेको थियो । उनीहरुको अनुहार, घाँटी, छाती र पेटमा धारिलो हतियारको घाउ पाइएको छ । हत्याको पछाडिको उद्देश्य अहिलेसम्म स्थापित गर्न सकिएको छैन । प्रहरीले मृत्युको कारण यकिन गर्न शवलाई फरेन्सिक ल्याबमा अटोप्सीका लागि पठाएको छ ।

प्रहरीका अनुसार अगष्ट ८ का दिन बेलुकी ७ बजेतिर शवबारे जानकारी दिन फोन आएको थियो । प्रहरी आउँदा शवलाई घेरेर ठूलो भिड उभिएको थियो । प्रहरीका अनुसार उनीहरुलाई धारिलो हतियार प्रहार गरेर मारिएको छ र हतियारको पहिचान भइसकेको छैन । यो केसको अनुसन्धान अल गरब पुलिसले गरिरहेको छ । हत्या कसले गरेको हो भन्ने पहिचान भइसकेको छैन र अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।