८ बैशाख २०८१, शनिबार
Follow Us

स्थानीय निकाय निर्वाचन गराउन तीन दल सहमत

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७३, मंगलवार १३:५४

ललितपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा आधारित भएर स्थानीय निकायको निर्वाचन गराउन तीन ठूला राजनीतिक दलबीच सहमति भएको बताउनुभएको छ ।
नेपाल तरुण दल केन्द्रीय समितिद्वारा आज काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित तरुण दलका पदाधिकारीका लागि राखिएको प्रतिज्ञासभालाई सम्बोधन गर्दैै उहाँले संविधान कार्यान्वयनको सिलसिलामा पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन गराउन बाध्यता रहेको बतउनुभयो । देश सङ्घीयतामा गइसकेकाले २०७४ माघ महिनासम्म स्थानीय, प्रान्तीय तथा केन्द्रीय तहको निर्वाचन गराउन आवश्यक रहेको उहाँको धारणा थियो ।

“संविधानको कार्यान्वयन गराउन काँग्रेसको काँधमा जिम्मेवारी आएको छ”– उहाँले भन्नुभयो । यसका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प छैन उहाँले अगाडि थप्नुभयो ।

उहाँले मधेस र पहाडकाबीचमा खाडल नहोस् भनेर संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभयो । संशोधन प्रस्ताव सहजरुपमा पास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । अब देश चुनावी मैदानमा गएकाले गाउँगाउँ, जिल्लाजिल्ला गएर तरुण साथीले पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न निर्देशनसमेत दिनुभयो । सभापति देउवाले स्थानीय निकायको चुनाव जित्नसकेमा राष्ट्रिय राजनीतिमा काँग्रेस अग्रपङ्क्तिमा रहनसक्ने भएकाले त्यसतर्फ पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सभापति देउवाले तरुण दलमा काम गरिसकेकालाई पार्टीमा स्थान दिनेसमेत बताउनुभयो । छिट्टै पार्टीको केन्द्रीय विभाग बनाउने तयारी भएकाले त्यस स्थानमा तरुण साथीलाई समावेश गराउने उहाँको प्रतिबद्धता थियो ।

युवा पुस्तालाई हाँक्ने किसिमको काम नवनिर्वाचित तरुण दलको काँधमा आएको समेत स्पष्ट पार्नुभयो । स्थानीय निकायलगायत अन्य निर्वाचनमा काँग्रेसलाई विजयी गराउन तरुण दलको भूमिका उल्लेखनीय हुनेमा उहाँको विश्वास थियो ।

सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको अवस्था गम्भीर रहेकाले त्यसतर्फ पार्टीपङ्क्ति सजग रहनुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयन र संशोधन प्रस्तावलाई पारित गराउन मधेसी मोर्चा र नेकपा (एमाले)लाई विश्वासमा ल्याउन काँग्रेसले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

देशमा देखिएको समस्यालाई समाधान गराउन राजनीतिक दलबीच सहकार्य र सहमतिको विकल्प नरहेको बताउँदै उहाँले संविधानले सङ्घीयता, गणतन्त्र, समावेशीता र लोकतन्त्रलाई स्थापित गराएकाले यसको कार्यान्वयन हुनु जरुरी रहेको छ भन्नुभयो ।

मधेसीको भावनालाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले काँग्रेसले लिएको मूल्य, मान्यता, चरित्र र आचरणलाई शिरोधार गरी तरुण दल अघि बढ्नसकेमा पार्टी मजबुद हुने विश्वास व्यक्त गर्नुभयो ।

काँग्रेसलाई हाँक्नसक्ने युवालाई तरुण दलले तयार गर्नुपर्नेमा उहाँले धारणा व्यक्त गर्नुभयो । काँग्रेस नेता बालकृष्ण खाँडले तरुण दल युवाको संस्था भएको बताउनुभएको छ । काँग्रेसलाई मजबुद बनाउन, पार्टीले लिएको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन तरुण दलको भूमिका सशक्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री समेत रहनुभएका तरुण दलका पूर्व अध्यक्ष वालकृष्ण खाँडले संविधान कार्यान्वयनका लागि समेत तरुणको भूमिका उल्लेखनीय हुनुपर्नेमा जोड दिँदै मुलुक विभिन्न तहको निर्वाचनको संघारमा रहेकाले काँग्रेसलाई बहुमत दिलाउन तरुण दल सक्रियरुपमा लाग्नुपर्दछ भन्नुभयो ।

नवनिर्वाचित अध्यक्ष जितजङ्ग बस्नेतले सङ्गठनलाई मजबुद किसिमले अगाडि बढाउन आफ्नो कदम रहने बताउनुभयो । युवाको सोचअनुसार तरुण दललाई अघि बढाउनेसमेत उहाँको प्रतिबद्धता रहेको थियो ।

दलको चौथो महाधिवेशनबाट निर्वाचित भएका अध्यक्ष जितजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्ष विद्वान गुरुङले नेतामाझ सपथ खाएका थिए ।