१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कतारमा आप्रवासी कामदारलाई नयाँ श्रम कानुन

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७३, मंगलवार १४:१८

दोहा । मंगलबारदेखि कतारले आप्रवासी कामदारका लागि नयाँ श्रम कानुन कार्यान्वयनमा ल्याएको छ । आप्रवासी कामदारका लागि निकै नै कठोर मानिएको ‘कफाला’ प्रणाली संशोधन गरी नयाँ श्रम कानुन लागु गरिएको हो । कतार सरकारले कफाला प्रणालीमा संशोधन गरी कामदारलाई थप अधिकार प्रदान गर्ने श्रम कानुन लागु गरिएको हो ।
कफालालाई आधुनिक दास बनाउने प्रणाली भन्दै चर्को आलोचना गरिएपछि विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारले कामदारलाई सहज बनाउने नियम लागु गरेको हो ।
नयाँ स्पोन्सरसिप प्रणालीले रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मचारीका सम्बन्धलाई नियमन गर्नेछ । कतारको मन्त्रिपरिषद्ले गत वर्ष नयाँ कानुनको मस्यौदा बनाई अमिरलाई पठाएकामा अमिरबाट डिसेम्बर १३ अर्थात् आजैका मितिबाट लागु हुने गरी स्वीकृत गरिएको थियो ।
कफाला प्रणालीमा रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म शवसमेत स्वदेश फर्काउन सकिंदैन भने, कामदारले कम्पनी परिवर्तन गर्न पाउँदैनन् । पासपोर्ट मालिकको हातमा हुन्छ, कामदारको काम, बसाई र आवतजावत रोजगारदाताले नियन्त्रण गर्छ । कफाला प्रणालीमा कामदारलाई दासको व्यवहार गरिन्छ । तर अब कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् ।
नियम अनुसार बिदा र स्वदेश फिर्तिका लागि पनि कम्पनीले बिदा नदिए छुट्टै समिति बनाइने र त्यहाँबाट बिदा लिएर घर फर्किन सक्ने छन् । समितिले तीन दिन भित्रमा निर्णय गर्ने छ ।
कामदारले अब रोजगारदाता परिवर्तन गर्न चाहेमा साविकको रोजगारदातालाई जानकारी गराए मात्रै पुग्ने छ । अनुमोदन गराउनु पर्दैन । तर निश्चित अवधिका लागि सम्झौता गरेका कामदारले भने पहिल्यै जानकारी गराउनु पर्ने छ । काम परिवर्तन गर्न चाहने आप्रवासीले नयाँ ठाउँमा काम थाल्नुअघि प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट अनुमति लिनु पर्नेछ ।
करार अवधि हुँदै रोजगारदाता परिवर्तन गर्नु परेमा भने साविकको रोजगारदाताबाट अनुमति लिनु पर्नेछ । रोजगारदाताले अनुचित व्यवहार गरेको, शोषण गरेको प्रमाण देखाउन सके रोजगारदाता परिवर्तनको हक हुनेछ । नयाँ नियम अनुसार कतारमा काम गर्ने भिसा प्राप्तिका लागि करार अनिवार्य हुने र त्यस्तो करारपत्र आफ्नै देशमा हुँदै हेर्न सकिनेछ ।
नयाँ नियम घरेलु कामदारका लागिसमेत लाभदायी छ । कामदारको पासपोर्ट अनावश्यक राख्ने रोजगारदातालाई २५ हजार रियालसम्म जरिवाना गरिने छ । कतारमा २१ लाखभन्दा बढी आप्रवासी मध्ये झण्डै साढे चार लाख नेपाली छन् । कफाला प्रणाली खाडीका अरु देश बहराइन, कुवेत, साउदी अरब, युएई र ओमानमा भने कायमै छ ।