६ बैशाख २०८१, बिहीबार
Follow Us

व्यवसायी रवि लामिछानेले कोरोना कोषमा गरे १५ लाख सहयोग

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७७, मंगलवार १९:१४

लण्डन । बेलायतमा व्यवसायरत रवीजंग लामिछानेले सरकारको कोरोना राहत कोषमा १५ लाख सहयोग गरेका छन्। कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको कोषमा लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका हुन्।

उक्त सहयोग रकमको चेक सोमबार रक्षामन्त्रालयमा आयोजित एक कार्यक्रममा उनका दाजु महेन्द्रजंग लामिछानेले प्राध्यापक डा. खड्ग केसी, नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका उपाध्यक्ष महन्त श्रेष्ठलगायतले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरे।

कार्यक्रममा लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्र समेत हस्तान्तरण गरियो। उक्त पत्रमा लामिछानेले विपदको समयमा आफुले सहयोग गर्दै आइरहेको उल्लेख छ। उनले यस अघि सिन्धुपाल्चोकको जुरे पहिरो पीडितलाई ३ लाख ५१ हजार, ७२ को भूकम्पको समयमा ५१ लाख रुपैयाँ सहयोग गरेका थिए।

सहयोग बुझ्दै उपप्रधानमन्त्री पोखरेलले लामिछानेले विभिन्न समयमा सहयोगि हात बढाएको स्मरण गरे। उनले कोरोना नियन्त्रणका लागि सरकारका कामले मात्र नभइ नागरिक पनि सचेत रहनु पर्ने बताए। उनले सीमित स्रोत साधान हुँदा हुँदै पनि देशभर ४० वटा परीक्षण ल्याब बनाउन सफल भएको बताए।

कोरोनाका नाममा कुनै पनि अनियमितता नभएको बताउँदै उनले सबै खर्च पारदर्शि भएको बताए। ‘सबै खर्च हेर्न सकिन्छ’, उनले भने, ‘खर्चको विवरण राख्ने र परीक्षण गर्ने संस्थाहरु पनि छन्। महालेखाले पनि लेखापरीक्षण गर्छ।’ उनले पीसीआर परीक्षणमा नयाँ मोडालिटी लिने पनि बताए।