१३ बैशाख २०८१, बिहीबार
Follow Us

कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७३, बुधबार ०५:३५

वीरगन्ज । विगत केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ ।

अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा जिल्लाका मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको कठ्याङ्ग्रिएर हालै मृत्यु भएको प्रहरीले जनाएको छ ।

निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने रिक्सावाला, मजदुरहरु प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबालीसमेत नष्ट भएको छ । चिसोकै कारण विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ । मानिस घरभित्रै बस्न बाध्य भएका छन् भने सबभन्दा बढी वृद्धवृद्धा र बालबच्चा प्रभावित भएका छन् ।