१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनएको सांगठनिक पुर्नरसंरचना सम्बन्धी प्रस्ताव सर्वसम्मतबाट पारित

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७७, शनिबार २०:४४

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सांगठानिक पुर्नरसंरचना तथा विधान संसोधन लगायत एक दूरगामी महत्व राख्ने प्रस्ताव पारित भएको छ ।

गैरआवासीय नेपाली संघको शनिवार अनलाइन कन्फ्रेन्स कल मार्फत सम्पन्न अन्तराष्ट्रिय समन्वय समिति (आइसीसी) को बैठकले सदस्यता शुल्क, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिषदको निर्वाचन प्रकृया, इलोक्ट्रोनिक्स मतदान, महाधिवेशन प्रतिनिधि चयन लगायतका क्षेत्रमा हुने पुनर्संरचनाको सम्वन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार संघद्धारा आज पारित भएको प्रस्तावलाई आगामि विषेश साधारणसभामा प्रस्तुत गरिने छ ।

बैठकमा संघका सचिव गौरी राज जोशीले एमआइएस सिस्टम, कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रस्ताव र संघका अध्यक्ष कुमार पन्त निःशुल्क सदस्यता र महासचिव डा. हेम राज शर्मा विधानसंसोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकमा बोल्ने अधिकांस सदस्यहरुले निःशुल्क सदस्यता वितरण, एमआइएस सिस्टम, संस्थामा आर्थिक सुधार लगायतका विषयको प्रस्ताव सकरात्मक रहेको बताए ।

संघले यसअघि पदाधिकारीहरु, राष्ट्रिय समितिका अध्यक्ष तथा महासचिवको परामर्श र सहमतिमा बनेको प्रस्तावलाई केन्द्रीय समिति (आइसीसी) बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकले विश्वभर छरिएका सबै राष्ट्रिय समितिमार्फत वितरण हुने पन्जिकृत सदस्यता निःशुल्क गर्ने निर्णय गरेको छ । यसअघि स्थापना कालदेखि ५ डलर अनिवार्य लिदै आएको संघले सो प्रावधान खारेज हुने भएको छ ।

बैठकको निर्णय अनुरुप संघका सबै राष्ट्रिय समितिको निर्वाचन प्रकृया केन्द्रीय प्रणाली अनुरुप हुने छन् । संघको राष्ट्रिय समितिमा उम्मेदवार बन्न र मतदान गर्न केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गर्नुपर्ने वैधानिक व्यवस्था गरिन् लागिएको छ । बैठकमा बोल्ने वक्ताहरुले संघको राष्ट्रिय समितिको निर्वाचन र केन्द्रीय समितिको नेतृत्व चयन एउटै मितिमा एकै पटक गर्न सुझाव दिएका थिए ।

बैठकले गैरआवासीय नेपाली संघको केन्द्रीय महाधिवेशनको लागि लाग्ने २ सय अमेरिकी डलर खारेज गर्ने समेत निर्णयलाई अनुमोदन गरेको छ ।

उनीहरुको प्रस्तावमा १ सय भन्दा बढी आइसीसी सदस्यले आआफ्ना भनाइहरु राखेको संघका केन्द्रीय सदस्य रामशरण सिमखडाले जानकारी दिए । बैठकमा उपाध्यक्ष मन केसी र रविना केसीले संघका प्रस्तुत प्रस्तावमा थप छलफल आवश्यक रहेको विचार राखेका थिए ।

संघको गत हप्ता सम्पन्न पदाधिकारी बैठकले पारीत गरेको प्रस्तावको पक्षमा अधिकांसले समर्थन गरेका थिए ।

जोशीले संघका सदस्यहरुको व्यक्तिगत विवरणको सुरक्षाको ग्यारेन्टी गरिने बताए । श्रेष्ठले संघको आर्थिक स्थायित्वका पक्षमा बोलेका थिए ।

बैठकमा संघका पदाधिकारीहरु लगायत १ सय भन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिती थियो ।