७ बैशाख २०८१, शुक्रबार
Follow Us

१० लाख सदस्य बनाउने लक्ष्य छ: एनआरएनए महासचिव, डा. हेम राज शर्मा

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७७, आईतवार १९:५१

लण्डन । गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले विश्वभरका नेपालीलाई एनआएनएमा समेट्ने उद्देश्यका साथ नयाँ प्रस्ताव पारित गरिएको बताएका छन् ।

यसअघि एनआरएनएको शनिवार सम्पन्न अन्तर्राष्ट्रिय समन्वय समिति )आइसीसी) को बैठकबाट सदस्यता शुल्क, राष्ट्रिय (एनसीसी) तथा अन्तर्राष्ट्रिय परिषद् (आईसीसी) को निर्वाचन प्रक्रिया, अनलाइन मतदान, महाधिवेशन प्रतिनिधि चयन लगायतका क्षेत्रमा पुनर्संरचना गर्नेसम्वन्धी प्रस्ताव पारित गरेको थियो ।

संघका प्रवक्ता डिवी क्षेत्रीका अनुसार बैठकले सैद्धान्तिक सहमति दिई सकेकाले बैठकमा प्राप्त सुझावहरुलाई समेटेर आगामी विषेश महाधिवेशनमा विधान संसोधनको लागि प्रस्तुत गर्ने संघको तयारी रहेको छ । क्षेत्रीले कार्यसमितिको बैठकमा आएका सुझावलाई समेट्न एक कार्यदल समेत गठन गरिएको बताए । कार्यदलले सो प्रस्ताव लागु गर्न व्यवहारिक पक्षको समेत अध्ययन गर्ने छ ।

महासचिव शर्माले भने ‘अहिले एनआरएनएमा विश्वभर रहेका नेपालीको २ प्रतिशतका हाराहारीमा मात्रै सदस्य हुनुहुन्छ, अझै पनि हामी ग्रासरुटसम्म पुग्न सकेका छैनौं । यो प्रस्ताव कार्यान्वयनमा गए उहाँहरुसम्म जोडिन सक्छौँ भन्ने हाम्रो विश्वास छ’।

शर्माका अनुसार नयाँ व्यवस्थाले भद्रगाले निर्वाचन प्रक्रियाको अन्त्य हुने छ भने प्रतिनिधि चयनमा निश्चित मापदण्ड बनाइने भएकाले निर्वाचनमा गैरएनआरएनको सहभागिता हुन पाउने छैन ।

‘अहिले महाधिवेशनमा प्रतिनिधि बनेर जानेहरु कतिपय एनआरएन नै नबुझ्नेहरु पनि भएको गुनासो आएका छन् । प्रतिनिधि बन्नका लागि निश्चित क्राइटेरिया तोक्ने भनेका छौं’, उनले भने, ‘एनसीसी–आईसीसीमा काम गरिसकेका, निश्चित समय संस्थाको सदस्य भइसकेका व्यक्तिलाई एनसीसीले नै छान्नेगरी हामीले प्रस्ताव गरेका छौं । यसले दशैँ बिदामा मौकामा नेपाल गएर भोट हाल्ने प्रचलन अन्त्य हुनुका साथै महाधिवेशनस्थलमा हुने समस्याहरु पनि स्वतः अन्त्य हुन सक्छ ।’
२०० डलर तिरेर महाधिवेशनमा प्रतिनिधि दर्ता हुने हुँदा उम्मेदवारहरुबीच मत किनबेच हुने गरेको भन्ने गुनासोको अब शुल्क नलाग्ने व्यवस्था गर्दा सम्बोधन हुने पनि शर्माको विश्वास छ ।

यसबोहक एनसीसी र आईसीसीको निर्वाचनमा सहभागी हुन भौतिक रुपमा सम्भव नभए अनलाइनमार्फत पनि गर्न सकिने व्यवस्था गर्न लागिएकाले संस्थामा थप आकर्षण बढ्ने शर्माको बुझाइ छ ।

शनिबारको प्रस्तावलाई विशेष महाधिवेशनबाट अनुमोदन भएपछि संस्थाको सदस्य बढाएर १० लाख बढाउने एनआरएनएको लक्ष्य छ ।

‘सदस्यता बढाउने मात्रै होइन । संस्थाप्रति अपनत्व बढाउँदै उनीहरुलाई देशसँग जोड्ने हाम्रो लक्ष्य हो’, शर्माले भने, ‘मध्यपूर्वसहित युरोप र अमेरिकामा पनि कतिपय एनआरएन अभियानमा जोडिनु भएको छैन । उहाँहरुलाई आकर्षित गर्ने गरी अघि बढेका छौँ ।’